विदेश जाने ‘सेक्युरिटी गार्ड’को प्रतिबन्ध हट्यो || मुद्दा चलिरहेका म्यानपावरले पठाउन नपाउने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
७ मंसिर, काठमाडौं । सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जाने युवाहरुमाथि लगाइएको प्रतिवन्ध हटेको छ । यो प्रतिवन्ध हटेसँगै अब नेपाली युवाहरुले सुरक्षा गार्डका रुपमा विदेश जाने बाटो खुलेको छ । तर, मुद्दा खेपिरहेका म्यानपावर कम्पनीहरुले भने गार्ड पठाउन नपाउने भएका छन् ।

मंगलबार बसेको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले यो प्रतिवन्ध हटाएको हो । समितिले सरकारलाई सेक्युरेटी गार्डका रुपमा फेरि कामदार विदेश पठाउन दिने निर्णय गरेको छ ।

संसदीय समितिकै निर्देशनमा गत भदौको दोस्रो सातादेखि सेक्युरिटी गार्डका रुपमा विदेश जाने युवालाई श्रम इजाजत दिन बन्द गरिएको थियो । समितिको यो निर्णयका कारण हजारौं युवा विदेश जान नपाएर समस्यामा परेका थिए ।
अब फेरि सेक्युरेटी गार्डका रुपमा जान चाहानेले श्रम स्वीकृति पाउने समितिका सदस्य सांसद चूडामणि जंगलीले जानकारी दिए ।

संसदीय समितिले सेक्युरिटी गार्डहरुलाई विदेश पठाउँदा तोकिएको फ्री भिसा र टिकटमा लागु नगरिएकोे, सुरक्षाको न्युनतम ग्यारेन्टी नलिइएको र उनीहरुले विदेशमा धेरै सास्ती भोग्नु परेको लगायतका कारण देखाउँदै श्रम इजाजत नदिन सरकारलाई भनेको थियो ।


तर, त्यसैका कारण मलेसियाले अन्य देशबाट सेक्युरिटी गार्ड लिन थालेपछि संसदीय समिति आफ्नो निर्णयबाट पछि हटेको छ ।

‘वैदेशिक रोजगार विभाग र न्यायाधीकरणमा मुद्दा चलिरहेका म्यानपावर कम्पनीले सेक्युरिटी गार्ड पठाउन पाउने छैनन्’ सदस्य जंगलीले भने,’अन्य म्यानपावर कम्पनीले भने अब सेक्युरिटी गार्ड सरकारले तोकेको नियम पुर्‍याएर पठाउन सक्छन् ।’

यसअघि संसदीय समितिले विदेशमा सेक्युरिटी गार्डका रुपमा नेपालीलाई कसरी पठाउने भन्नेबारे अध्ययन गर्न एक उपसमिति बनाएको थियो । मंगलबार बसेको समितिको बैठकले श्रम तथा रोजगार मन्त्राललाई वैदेशिक रोजगार विभागमा देखिएका विभिन्न समस्या औंल्याउँदै १९ बुँदे निर्देशन पनि दिएको छ ।

यसैवीच सरकारले यसअघि अफगानिस्तानका केही दूताबासका लागि सेक्युरिटी गार्ड सप्लाइ गर्न सकिने निर्णय गरेको थियो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment