पशुपतिनाथको दर्शन गर्न किन जाँदैनन् नेपालका प्रधानमन्त्रीहरु ?

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
सुदिप पौडेल, काठमाडौं, १९ कात्तिक । काठमाडौंमा रहेको हिन्दूधर्मालम्बीहरुको आराध्यदेव पशुपतिनाथको नेपाल भ्रमणमा आएका विदेशी राष्ट्र र सरकार प्रमुखहरुले प्रमुखताका साथ दर्शन गर्ने गरेका छन्

हालै मात्रै धर्मनिरपेक्ष राष्ट्र भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको मन्दिरमा पुगेर विशेष पूजाअर्चना गरेका छन् । यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पशुपतिनाथको दर्शन गरेका थिए । नेपाल भ्रमण गर्ने भारतका १३ मध्ये नौ राष्ट्रपतिहरु, १४ मध्ये ९ प्रधानमन्त्रीहरूले पशुपतिनाथको दर्शन गरेका छन् ।

भारत अलवा अन्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुले पनि पशुपतिनाथको दर्शन गर्ने गरेका छन् । तर, नेपालका प्रधानमन्त्रीहरु भने पशुपतिनाथको दर्शन गर्न जाने गरेका छैनन् । हिन्दू भएर पनि पशुपतिनाथको दर्शन गर्न नेपालका प्रधानमन्त्री किन जाँदैनन् ?

धर्मनिरपेक्ष नेपालका आठ जना प्रधानमन्त्रीहरू मध्ये सुशील कोइराला एक जनाले मात्रै प्रधानमन्त्रीको हैसियतमा पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले मिडिया एनपीलाई जानकारी दिए । आफ्नो मुलुकमा रहेको ठूलो तिर्थस्थलमा नजाने नेपालका प्रधानमन्त्रीहरुले पशुपतिनाथप्रति बेवास्ता गरेका हुन कि भन्ने कतिपयले टिप्पणी समेत गरेका छन् ।

गणतन्त्र आउनु अघि प्रायःजसो राजाहरु पशुपतिनाथको दर्शन गर्न जाने गरेका थिए भने गणतन्त्र आएसँगै राष्ट्रपति शिवरात्री, तीज, लगायतको खास पर्वमा बाहेक जाने गरेका छैनन् । राष्ट्रपति भएलगत्तै डा. रामबरण यादव एक पटक पशुपतिनाथको दर्शन गर्न पुगेको टन्डनले बताए ।

राम्रो आर्थिक स्रोत मानिएको पशुपतिनाथको भेटीको विषयले एकताका राजनीतिक क्षेत्रमा हलचल ल्याएको थियो । यसलाई कतिपयले राजनीतिक हस्तक्षेपको रुपमा समेत विश्लेषण गरेका थिए । तर, पशुपतिनाथ मन्दिरको अवस्था, यसको आसपासको क्षेत्रमा बढ्न थालेको अतिक्रमण प्रति राष्ट्र तथा सरकार प्रमुखहरुले चासो दिने गरेका छैनन् ।

नेपाल भ्रमणमा आएका बाह्य देशका राष्ट्र तथा सरकार प्रमुखले प्रमुखता दिएर दर्शन गर्ने पशुपतिनाथको दर्शन गर्न या यसको संरक्षण प्रति नेपालका कार्यकारी रहेका प्रधानमन्त्रीहरुले बेवास्ता गर्नु दुखद् कुरा हो । मुलुक धर्म निरपेक्ष राष्ट्र हुन सक्छ, तर राष्ट्र एवम् सरकारले आफ्नो देश भित्र रहेका गौरवका तिर्थस्थल प्रति बेवास्ता गर्नु उचित होइन । धार्मिक हिसावले मात्रै होइन पशुपतिनाथ एवम् पाशुपत क्षेत्रको भौतिकलगायत अवस्थाको बारेमा जानकारी लिन समेत निरीक्षण गर्न प्रधानमन्त्रीहरु गएका छैनन् ।

पशुपतिनाथको दर्शन गर्ने प्रचण्डको इच्छा

हिन्दूधर्मालम्बीहरुको प्रमुख तिर्थाटन पशुपतिनाथको दर्शन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा सुशील कोइराला बाहेकले दर्शन नगरेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथतको दर्शन गर्न आउने कुरा रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको दर्शन गर्न आउने इच्छा व्यक्त गरेको उनले बताए ।

भारत लगायतका मुलुकबाट नेपाल भ्रमणमा आएका राष्ट्र तथा सरकारले प्रमुखले पशुपतिनाथको दर्शनलाई प्रमुखता दिएपनि नेपालका प्रधानमन्त्रीहरु किन पशुपतिनाथको दर्शन गर्न जाँदैनन् भन्ने प्रश्नको जवाफ दिँदै सदस्य सचिव टन्डनले भने, ‘नेपालका प्रधानमन्त्रीहरु पनि भारत जाँदा त्यहाँका मठमन्दिरको दर्शन गर्न जानुपर्छ । जसरी उनीहरु यहाँ आउँदा जस्तो चर्चा हुन्छ त्यसैगरी भारत जाँदा त्यहाँका मन्दिरको दर्शन गरी नेपालका प्रधानमन्त्रीहरुले चर्चा लिनुपर्छ ।’

पुनर्निर्माणको काम जारी

गोरखा भूकम्पका कारण क्षतिग्रस्त बनेका पाशुपत क्षेत्रको मठमन्दिरको पुनर्निर्माण कार्य भइरहेको कोषका सदस्य गोविन्द टन्डनले बताए । प्रधानमन्त्री प्रचण्डले पनि पाशुपत क्षेत्रको पुनर्निर्माणका लागि चासो दिएको उनले बताए । ‘यस क्षेत्रको पुनर्निर्माणका लागि २५ करोड रुपैयाँ आएको छ’, टन्डनले भने, ‘यसै विषयमा छलफल गर्न अहिले मिटिङ भइरहेको छ ।’
From Medianp

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment