Loading...
हेर्नुहोस भिडियो
वैदेशिक रोजगारीमा जाने सोचमा हुुनुहुन्छ, होशियार ! आजाद भिसाका नाममा दलालले ठग्न सक्छन्
यस्तो धन्दा मौलाएको छ, नियन्त्रण गर्दैछौं : मन्त्रालय
सुवास भट्ट
काठमाडौं, १४ मंसिर – नेपाली कामदारलाई विदेश पठाउने नाममा खुलेका म्यानपावर व्यवसायीले ‘आजाद भिसा’ नामको नयाँ ठगी धन्दा चलाइरहेको खुल्न आएको छ । उनीहरूले खासमा अस्तित्वमै नरहेको आजाद भिसाको नामबाट वैदेशिक रोजगारीमा जान खोज्ने युवाहरूलाई ठगी गरिरहेको भेटिएको हो ।
रोजगारीका लागि कतारलगायतका खाडी मुलुकमा जान खोज्ने युवाहरूलाई आजाद भिसाको नाममा विभिन्न प्रलोभन देखाएर व्यवसायीले ठगी गरेको पाइएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।
‘पछिल्लो समय आजाद भिसाको नाममा वैदेशिक रोजगारीमा जान खोज्ने युवाहरूलाई ठगी गर्ने धन्दा मौलाएको छ । यो विषयमा हामी छानबीन गरिरहेका छौं,’ श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले लोकान्तरसँग भने ।
आकर्षक तलब पाइने, आफूले चाहे अनुसार कम्पनी परिवर्तन गर्न मिल्ने लगायतका प्रलोभन देखाएर युवा ठग्ने गरेको जानकारी मन्त्रालयमा आएको उनले बताए । ‘गाउँ–गाउँमा पुगेर दलालहरूले आजाद भिसामा काम गर्न पाइने भन्दै मोटो रकम असुली रहेको उजुरी मन्त्रालयमा परेका छन्,’ मन्त्रालयका प्रवक्ता भुर्तेलले थपे ।
वैदेशिक रोजगार विभागले पनि पछिल्लो समय आजाद भिसाका नाममा युवाहरू ठगिन थालेको बताएको छ । यो भिसामार्फत खासगरी कतारमा जान चाहने युवाहरूलाई ठग्ने गरेको भेटिएको विभागको भनाई छ । ‘आजाद भिसाका नाममा कामदारबाट थप रकम असुलेर केही व्यवसायीले ठगी गरेका छन्,’ विभागकी प्रवक्ता रमा भट्टराईले लोकान्तरसँग भनिन् ।
उनले विगत तीन महिनायता यस्तो भिसाका नाममा ठगी गर्न थालिएको बताइन् । ‘यो ठगीको नयाँ धन्दा हो,’ विभागकी प्रवक्ता भट्टराईले भनिन्, ‘यस्तो प्रवृति रोक्न प्रयास भइरहेको छ ।’
के हो आजाद भिसा ?
खासमा आजाद भिसा केही पनि होइन । यो बेरोजगार र वैदेशिक रोजगारीमा जान खोज्ने युवाहरूलाई ठग्ने ‘नयाँ सूत्र’ हो । ‘आजाद भिसा भन्ने कुरा कहीँ पनि छैन,’ मन्त्रालयका प्रवक्ता भुर्तेलले भने, ‘यस्तो गतिविधि गैरकानूनी हो ।’
व्यवसायीहरूले आकर्षक तलब, सुविधा पाइने, आफूले रोजेअनुसारको कम्पनीमा काम गर्न पाइने लगायतका प्रलोभनमा खाडी मुलुक जान चाहने युवालाई ठगिरहेको विभागको भनाई छ ।
मन्त्रालयका अनुसार श्रम भिसामा खाडी मुलुक गएका कामदारले कार्यरत कम्पनी परिवर्तन गर्न पाउँदैनन् । हाल युनाइटेड अरब इमिरेट्स र बहराइनमा काम थालेको एक वर्षपछि कम्पनी परिवर्तन गर्न पाइने भने पनि सो व्यवस्था पूर्ण कार्यान्वयनमा छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि आजाद भिसाका नाममा ठगी भइरहेको जानकारी संस्थामा आएको बताएको छ । ‘अनधिकृत केही म्यानपावर कम्पनी र दलालहरूले आजाद भिसाको नाममा युवाहरू ठगेको भन्ने जानकारी हामीलाई पनि प्राप्त भएको छ,’ संघका अध्यक्ष विमल ढकालले भने, ‘यो गलत हो ।’
गलत गतिविधि गर्ने अनधिकृत कम्पनी र दलालहरूलाई तत्काल कारवाही गर्नुपर्ने उनले बताए ।
SOURCE ONLINE KHABAR
Post a Comment