‘सुन साइँली’ यि हातले बेल्चा समाउँला , चालिस कटेरपनि कसरि रमाउँला ?

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
हिँजो आज ‘सुन साइँली’ को गीत सामाजिक सञ्जालमा बहसको बिषय बन्ने गरेको छ भने यसको ह्यास ट्याग ट्रेनडिंग पनि नम्बर एकमा छ । छोटो समयमानै ५० लाख भन्दा बढी दर्शक तथा श्रोताहरुले सुनेको र हेरेको यो गीतले बिदेशिएका यूवाहरुको ब्यथा र पीडालाइ सिधै सम्बोधन गरेको छ त्यसैले पनि होला यो गीत धरै रुचाइएको छ । र हिँजो आज साँइलाको नाम दिंदै आफ्नो पेटको जोहो गर्न मजदुरी गरिरहेका यि एक जना श्रमिक जसले भुजा र चना खाइरहेको फोटोलाइ पनि भाइरल बनाइएको छ ।



‘सुन साइँली’ को गीत लाइ लिएर थुप्रै नेपाली यूवाहरुले सामाजिक सञ्जाल मार्फत आफ्ना बिचार हरु पनि पोखिरहेका छन् ।

यस्तै तितो मिठो अनुभब लेखेका छन् न्यूज२४ टेलिभिजनका समाचार प्रस्तोता गणेश भट्टले ।
……………………………………………………………………………………………………………
अक्सर मान्छे टिन एज कटेपछि विवेकी बन्छन् । पढाई छैन, गरेर खान हातमा सीप छैन, कमाएर खान जागिर पाइँदैन, उद्यम गर्न पूँजी हुँदैन । अनि के गर्ने ? दिमागमा ‘विदेश’ले घर गर्छ । लाग्छ, विदेश गएपछि पैसा सजिलै कमाइन्छ । उनीहरुले छोडेको काम हाम्रो पहिलो रोजाईमा पारिन्छ । म्यानपावर एजेन्सी हुँदै भिजा लगाएर उतै उँडिन्छ । उतैको तातो वालुवामा सुन खोस्रिइन्छ ।

अब आफ्नो घर परिवारलाई छोडेर विदेशिएकाहरु थेरै यथार्थ र धेरै कल्पनाको ‘विदेश’मा पुग्छन् । आखिर कामै गर्न गएको हो, गर्नुपर्छ भन्ने महसुश हुन्छ । गर्छन् । दैनिक १२ १४ घण्टासम्म काममा जोतिन्छन् । नजिकै घाम देखिने आकाशको तलतिर भोक प्यास नभनी पसिना बगाउँछन् । आराम पनि गर्न पाउँदैनन् । विदाको दिन काममा गए ओटी आउने काइदा र फाइदाले काममै जान्छन् । खर्च गर्ने वेला रियाल र दिरामसंग नेपाली रुपैंयाको एक्चेन्ज रेट हेर्छन् । डेरा, माम र काममा अल्झिएको परदेशी जिन्दगी भोग्दै गर्दा यता साहुको ऋण तिर्छन् । श्रीमती हेर्छन् । लालाबाला पढाउँछन् । घर छाउँछन्, तला थप्छन्, बनाउँछन् । जग्गा जमिन जोड्छन् । आफू दुख भोगेरै भए पनि परिवार खुशी बनाउँछन् ।
यी र यस्तै परिस्थितिहरुको उपज बनेको छ नेपाली जनजीवन । यस्तै कथाहरु ब्यथा बनेर दुखीरहेछन् आजकल । त्यसैले पनि अहिले हेमन्त रानाको आवाजमा रहेको ‘सुन साइँली’ गीतको चर्चा चुलिएको रहेछ । दुई चोटी सुर्नें । हेरेँ । एक चोटी परदेशी बनेर अनि अर्को चोटी घरदेशी बनेर । लाखौं श्रोता, दर्शक र संगीत पारखीहरु गीतको शब्द शब्दमा डुबेर गीतको परिवेश र आफ्नो जीवन भोगाईलाई तौलिरहेका वेला मैले पनि त्यसै गरेँ ।

म पनि जिन्दगीको जोड घटाउमा ब्यस्त छु, मस्त छु । हर पल, हर क्षण आफ्नो भविष्यको हर घडी अन्दाज गरिरहेको छु । औषत मान्छे झैं । त्यो परदेशी चालिस कटेपछि स्वदेश फर्केर परिवारसंग रमाइरहँदा म के गरिरहेको हुँदो हुँ !

शहरका मान्छेहरु, पैसा हुनेहरु, साहूलाई ऋण तिर्नु नपर्नेहरु अमरिका, अष्टेलिया र युरोपका मुलुकमा रमाइरहेका हुन्छन् । शिक्षित, योग्यता र क्षमता भएका नागरिकहरु खाडी मुलुक नै गए पनि दक्ष कामदारका रुपमा युरोप अमेरिका सरहकै काम र सुविधामा जालान् । उनीहरुले चाहे महिनाको एक दुई चोटी आउने जाने गर्लान् वा परिवारलाई उतै लैजालान् । परिवारसंग रमाउनका लागि उनीहरुलाई गीतमा भने झैं चालिस पर्खनै परेन । त्यसैले, सामान्य पारिवारिक परिवेशका निम्न र मध्यम बर्गीय नागरिकहरु अदक्ष कमदारको रुपमा विशेषगरी खाडी लगायतका मुलुकमा गाँस, वास र कपासको जोहो गर्न गएका हुन्छन् ।

अव यो परदेशी चालिस पचासको हाराहारीमा घर फर्कन्छ । र, परिवारसंगै बाँकी जीवन सुखसाथ बिताउँछ । उसकै प्रतिक्षामा बसिरहेका बुढा बा आमा, नाबालक छोरा छोरी अनि जीवनसाथी खुशी हुनेछन् ।

१६/१७ वर्षको उमेरमा एसएलसी पास गरेर एउटा युवक आठ दश वर्षपछि युनिभर्सिटीको अध्ययन पूरा गर्छ । सरकारी जागिरको कोसिश गर्छ, पाउँदैन । प्राइभेट कम्पनीमा काम गर्छ । फलानाको कमाइ यति छ सुनेकै भरमा फुरुंग हुन्छ । घर परिवारलाई मन लागेको चीज धक खोलेर लाऊ खाऊ भन्न सक्दैन । मर्दा पर्दा कसैलाई दुई पैसो दिन पनि सक्दैन । काम नगरेको पनि होइन, पैसो नकमाएको पनि होइन तर गोजीमा पैसो हुँदैन, बैंकमा ब्यालेन्स हुँदैन ।
आफैंलाई प्रश्नवाचक चिन्हहरुले घेरिरहेको भान हुन्छ अव । म को हुँ ? के गर्दैछु ? मेरो उद्देश्य के हो ? प्रश्नहरुले एकपछि अर्को गर्दै ठुँग्न थाल्छन् । मसंग डिग्री छ । जागिर छ । नाम छ । प्रतिष्ठा छ । तर नभई नहुने पैसो छैन । काम गरुँ कि छाडुँ ? आफैंसंग दिक्क लाग्छ । देशसंग रिस उठ्छ । नागरिकता र पासपोर्टसंग थुकथुकी लाग्छ ।
अव तीस हिउँद काटिसकियो । बेलैमा बुद्धि आएन । यो भन्दा राम्रो गर्न पनि सकिएन । अव गरुँ भने जाँगर चल्दैन । सानोतिनो काम गर्न अरब जाउँ भने पनि अव बुढेशकाल धेरै टाढा छैन । विदेश नगएर यहीँ केही गरुँ भने वातावरण छैन । के गर्ने ? लगानीको सुरक्षा कस्ले गरिदिन्छ ? उफ् ।
आजकल यस्तै हिसाब चलिरहेछ मेरो मस्तिष्कमा । मेरो जिन्दगीमा मेरो हिसाब किताब मिल्छ मिल्दैन थाह छैन । मेरो हर हिसाबले दिने उत्तर मेरो जीवनको उत्तर हो होइन, त्यो पनि थाह छैन । यद्यपि, औषत मान्छे झैं म पनि जिन्दगीको जोड घटाउमा ब्यस्त छु, मस्त छु । कसैले नदेख्ने गरी, कसैले नसुन्ने गरी । मनमनै, हर पल हर क्षण आफ्नो भविष्यको हर घडी अन्दाज गरिरहेको छु । औषत मान्छे झैं ।
त्यो परदेशी चालिस कटेपछि स्वदेश फर्केर परिवारसंग रमाइरहँदा म के गरिरहेको हुँदो हुँ !

(स्वदेशका शिक्षित बेरोजगार र अर्धरोजगार युवाहरुप्रति समर्पित)
Source http://www.news24nepal.tv

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment