फेरी भुतले यसरी दुख दिदैछ कतारमा बस्ने नेपालीहरुलाई (रातिको बेलामा डराउनेहरुले नपढ़नुहोला)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

करिब ४० बर्ष अघि बलिउडमा निर्मित शोले फिल्मको डाइलग जल्दी सो जा नहीं तो गब्बर सिं आ जाएगा भनेर अमजद खानकै मानव प्राकृत स्वरुप र भीमकाय डरावना डायलग सम्झिएर तर्सिने दक्षिण एसियाली मुलका भारतीय र नेपाली मानसिकतामा अल्लाह र भगवान प्रति जति आस्था र विश्वाश छ, त्यतिकै कमजोर मानसिकता भएका अर्थात् हल्का छायाँ भएका हामी केहि नेपालीहरुमा भूतप्रेत हुन्छ भन्ने कुरामा त्यत्तिकै अदृश्य शक्ति माथि विश्वाश पनि छ ।

यहि क्याम्प हो जहा म लगायत करिब एक सय ८० जना नेपाली हरु रहन्छन र हरेक रात सन्त्रासमय निन्द्रामा रात काट्ने गर्छन
उसो त विश्वका सुप्रसिद्ध चलचित्र निर्माण नगरी हलिउड बलिउडले पनि भुतप्रेत र भट्किएको मृत आत्माको बारेमा दजनौं चलचित्र बनाएर दर्शकहरुबाट अरबौं डलर असुलेर अदृश्य , अज्ञात भूतको कथा बेची करोडपति भएका छन् । यदि यस्ता अदृश्य शक्ति सबै झुटा हुन् भने मानव मनोबल कमजोर बनाउने यस्ता चलचित्र, थ्रिलर उपन्यास निर्माण तथा प्रकाशनमा प्रतिबन्ध लगाईनुपर्छ । यस्ता उडन्ते कुराले मानसिकतामा नराम्रो असर पुर्याउँदछ । जसको मानसिक तथा मनोबिज्ञान कुप्रभावले कैयौंले आजीवन आवाज गुमाएको, पागल भएको र तर्सिएर सातो गएर तत्काल मृत्युवरण गर्न पुगेको सत्य घटनाहरु पनि छापामा आउने गरेका छन् ।

भूतप्रेत सम्बन्धी किंबदन्ती नेपालमा मात्र नभै हरेक देशमा भन्ने, सुनाउने, सुन्ने गरिन्छ र त्यहि भने, सुनेका कुराहरु प्रागकाल देखि अहिले सम्म पनि पुस्तान्तरण हुँदै गाउँघर मेलापात तथा गोठालो, बनजंगल चाहार्न जाँदा भन्दै गरिदै आईरहेको छ । अर्थात् भूतप्रेतको बारेमा वाचित कथा किंबदन्तीको रुपमा एउटाको मुखबाट अर्कोको मुखमा र अर्कोको मुखबाट अझ अर्कोको मुख र जनजिब्रोमा स्थानान्तरण हुँदै आईरहेको छ ।

यस्ता भूतप्रेतका कथा गाउँघरतिर साँझ पख खोल्मा, पिंढी तथा धन्सारमा बसेर मकै नंग्याउने अवस्थामा, समूहमा रहेर गरिने अन्य कामको अवसरमा भन्ने आमप्रचलन थियो । यस्तै भूतप्रेतको राग उराल्ने क्रममा अझ कसैकसैले त मेरो हजुरबाले त भूत संग लाप्पा खेलेर भूतलाई पछारेको, हिलोमा गाडिदिएको, वा बाउ बाजेको यस्तै पुरुषार्थ जडित कथा उरालेर बाउ बाजेले भूतलाई हराएर देखाएको बहादुरीताको दन्त्य कथा सुुनएर अलमलमा पार्ने प्रचलन औधि नै हुन्थ्यो ।

म स्वयं पनि वल्ला घर पल्ला घरमा गएर साँझ हुँदो मेरै समकालिन र आफु भन्दा साना साना भाईबहिनीहरुलाई भूतको काल्पनिक कथा सुनाइसकेर उनीहरुको मानसिकतामा डर र भ्रम भरिसकेपछि उनीहरुमा सिर्जित आतंकित चेहेरा हेर्दै आफुले कथा माध्यमबाट उनीहरुको मानसिकतामा प्रभाव जमाउन सकेकोमा ठूलो जितको महसुस गर्थें र त्यस पछि घर जाने क्रममा आफुले सुनाएको भूतको कथाबाट आफैं तर्सिएर खुट्टाको चप्पल हातमा घुसारेर पछाडि नफर्कीकन सास प्रश्वाश नै बन्द गरेर एकै पटक घर पुगेपछि मात्र लामो श्वाश तानेर भूतबाट बचेर घर आउन सफल भएकोमा आफैं दंग पर्थें भने घर आउन सफल भैसकेपछि छ्या बेक्कारमा डराएर भागेछु । नदौडिकन विस्तारी घर आएको भएपनि मलाई भूतले के पो विगार्न सक्थ्यो र भनेर अलिकति मक्किएको साहस जागेर आउने गरेको त्यस्ता आफ्नै अनुभव पनि थुप्रै छन् ।

अब प्रकारान्तारमा नै जाउँ । म कार्यरत कम्पनीको क्याम्प दोहा सहर देखि करिब ४० किलोमिटर पश्चिमोत्तर ठाउँ अबु नख्ला भन्ने स्थानमा रहेको छ । कम्पनीमा कार्यरत नेपाली, सुडानी, भारतीय मूलका सबै कर्मचारी कामदारहरुलाई यस क्याम्पमा सारिनु अघि अरु नै कम्पनीका कामदारहरु यसमा बस्दै आएका थिए र अन्यहरुको भनाई अनुसार यस्तै अदृश्य आतंकको कारण उनीहरुले क्याम्प नै छोडेर अन्यत्र गएको बताउँछन् ।

यस्तो थियो अदृश्य शक्तिबाट आतंकितहरुको अनुभव
पहिलो पटक म लगायत एउटै बिल्डिंगमा फरक फरक कोठामा बस्ने झापा गौरीगञ्जका संजय महतोलाई बत्ती निभाएर सुतेको आधा तन्द्राको बेलामा नै दुई पटक मच्चाएर गालमा पिटेको बताए । घटना घटे लगत्तै कुनै साथीले जिस्किएर पिटेको होला भनेर छेउमा भएको बत्ती बालेर हेर्दा सबै साथीहरु घुरेर सुतीरहेको देखेपछि अँध्यारोमा आएर गालमा हिर्काउने को हो त भनेर ढोकाको छेस्कनी खोलेर बाहिर नियाल्दा निष्पट्ट चुक घोप्ट्याएको जस्तो अन्धकारमा उनले केहि र कोहि पनि देखेनन् । एकटंकार संग कुकुर भुकेको आवाज मात्र आएको सुनेपछि डराउँदै फेरि कोठामा पसेर साथीहरुलाई घटनाको बारेमा बताए । साथीहरुले तेरो मनको भूतले नै तँलाई तर्साएको हो, सपनामा भूत देखेर त्यसो भएको हुन सक्ने बताएपछि सञ्जय महतो सुतेको बताए ।

त्यसको केहि दिन पछि भुईंतलामा बस्ने काठमाण्डौं थानकोटका विजय कार्कीलाई पनि आघा तन्द्राको अवस्थामा एक्कासी घाँटी थिच्न थालेपछि उनी चिच्याएर उठेको बताउँछन् उनी संगै कोठामा सुत्ने वर्दियाका राजेन्द्र आचार्य । त्यो घटनालाई पनि सबैले सपनामा ऐंठन गरेको मात्र हो । यस्तो कुनै भूतप्रेत होइन भनेर केहि समय भूतकै कथा एक अर्काले एक अर्कालाई सुनाएर सुते ।

सोहि कम्पनीमा कार्यरत बाँकेका राजेन्द्र आचार्य भन्छन , मलाइ पनि घांटी समाउन आयो !
पुनः त्यहि कोठामा सुत्ने बर्दियाका तिनै राजेन्द्र आचार्यलाई त्यसै गरी एक्कासी सास नै फेर्न नमिल्ने गरी घाँटी थिच्न थालेको र आचार्यले आफ्नो दुई हातको जोडले त्यस अदृश्य शक्तिको कंकाल हात आफ्नो घाँटी बाट छुटाएको बताउछन । सबैलाई उठाएर काठमाण्डौ थानकोटका विजय कार्की संग मिल्दोजुल्दो उस्तै प्रकृतिको घटना सुनाए ।

त्यो घटना घटेको ५,६ दिनको अन्तरालमा सोही कोठमा सुत्ने सुनसरीका अरशाद मियाँलाई पनि मध्यरातकै समयमा स्पष्ट छायाँ आफ्नो शरीर तिर बढ्दै आएको र कम्मर भन्दा मुनिको भाग अदृश्य शक्तिको छायाँले ढाकेजति चलाउन नमिलेपछि कम्मर भन्दा माथिको भाग र हात जोडले चिच्याउँदै चलाए । उक्त छायाँ कम्मर भन्दा मुनि बाट कम्मर देखि माथिल्लो भाग तिर सरेर गएपछि उनले न त हात चलाउन सके, न त पहिले झैं कराउन नै । छायाँबाट छुटेको कम्मर भन्दा मुनिको भाग चल्ने भएकोले उनले बोल्न नसकेपछि लात्ताले हिर्काएर माथि सुत्ने अर्का साथीलाई उठाए । सबै उठेर बत्ती बालेर अरशादलाई बोलाएपछि बल्ल केहि समय पछि उनी बोल्न सकेको उनका रुममा बस्ने अन्य साथीहरुले बताए । त्यो रात अरशादले अल्लाह प्रार्थना गरेर सुतेपछि त्यो रात कोठामा कुनै पनि घटना नभएको बताए ।

सुनसरीका प्रेतात्मा पिडित अर्शाद मिया भन्छन, सुतेको बेलामा मलाइ छायाले छोपेर चल्ने दिएन !
श्रृंखलाबद्ध रुपमा यस्ता घटना दोहोरिदै गएपछि क्याम्पमा रहने सबैमा एउटा अज्ञात भय र आतंक फैलिरहेकै बेला झापाकै अर्का दिलिप महतोलाई मध्य रातको १२ बजेको समयमा निदाउन लागेको बेलामा गालामा दुई थप्पड जोडले हिर्काएको कथा सबैलाई उठाएर बताउँदै रातभरि डरले जाग्राम नै रहेर बिताएको अनुभव सुनाउन आईपुगे ।

दिलिप महतो सुत्ने सोही कोठाका झापा गौरीगञ्जका श्रवण महतो भने अदृश्य शक्ति भनिएको ( भूत ?) साक्षात रुपमा नै आफुले देखेको र छातिको आधा भाग भन्दा मांसपिण्ड सहितको मानव आकृति र छातिको आधा भाग भन्दा मुनि कंकाल मात्र रहेको हड्डी मात्र भएको हातले श्रवणको घाँटी थिच्न थालेपछि आफुले पनि दुवै हातले आफ्नो घाँटीमा भएको उसको कंकाल हात छुटाएर उनी संग बेडमा नै बसेर रस्साकस्सी भएको बताए ।

यहि बेडमा सुतेका थिए तस्वीरमा देखिएका श्रवण महतो जहाँ उनि कंकाल संग कुस्ती खेलेको बताउछन !
भर्खरै मात्र निदाएका चितवन भक्तिनी बगैंचाका रुपचन्द महतोले एकले अर्कोलाई हिर्काएको आवाज आएपछि कसैले राति रक्सी खाएर आएर आफ्नो रुम पार्टनरलाई पिट्न थाल्यो भनेर बेडको माथि सुतेका रुपचन्द माथि बाट हाम्फालेर ढोका छेउमा भएको बत्ती बालेर हेर्दा तस्वीरमा देखाएको अवस्थामा श्रवणलाई छाती भित्र बाट निस्किएको घ्यार घ्यार आवाज संगै बेडमा चढ्ने सिंढी भित्र पसेको टाउको उनी जोडले बाहिर निकाल्न खोजे जस्तो मुद्रामा बल गरिरहेका थिए भने अदृश्य शक्तिले चाहिँ उनको घाँटीमा समातेर फलामे डण्डीको प्वालबाट बाहिर तान्न बल प्रयोग गरेको अवस्थामा डोरी तान्ने खेलमा मान्छे अघि पछि भएजस्तो दृश्य देख्न पुगे । श्रवणलाई झक्झक्याएर के भयो भनेर रुपचन्दले सोध्दा यहि डण्डी बाट दुवै हात छिराएर उसले आफ्नो टाउको बाहिर तान्न थालेको र आफु चाहिँ बल गरेर उसबाट छुट्कारा पाउन खोजेको बताए ।

मलाई कंकालले यहि डण्डीको बीच बाट हात घुसारेर अन्तिम समयमा तानीरहेको थियो भनेर देखाउदै श्रवण महतो !
उनको छातिभरि कोपरेको चिथोरेको धर्सा, डाम र रगतले गञ्जीको केहि भाग भिजेको र कार्पेटमा पनि रगत चुहिएको टाटाहरु स्पष्ट थियो । सो घटना घटेको केहि मिनेटमा नै जानकारी पाएर माथिल्लो तल्लामा जाँदा श्रवण महतो कुनै २ सय मिटर दौड प्रतियोगितामा दौडिएर भर्खरै आए जस्तो गरी सुसाईरहेका थिए । छातिभरि चिथोरिएको घाउ देखाउँदै उनले भने हड्डी नै हड्डी मात्र भएको पञ्जाले कोपरेर मेरो यो हालत बनाईदियो । उनी आत्तिदै र काम्दै सबै सामु बताए ।
टि शर्ट र कार्पेट माथिको पेपर माथि देखिएको श्रवणको शरीर बाट निस्किएको रगतको टाटा !

मार्च १९ को राति श्रवणमाथि त्यो घटना घटेको भोलिपल्टै शुक्रवार २० तारिख खोटाङका मणिराज राई माथि पनि राति ११.४५ बजे सुतेको अवस्थामा घाँटी अठ्याउन थालेपछि चिच्याउँदै त्यस अदृश्य शक्तिको कपाल समातेर आफु त्यसबाट छुट्कारा पाएको कुरा बताए ।

त्यो घटनाले त्यहाँ रहने सबै संत्रासमय भएपछि पंक्तिकार क्याम्प वाला मालिकले तलवदारको रुपमा क्याम्पको रेखदेख गर्न राखेको भारत राजस्थानका नाथुरको रुपमा काम गर्दै आएको किशोर मेहरलाई भेटेर केहि जानकारी लिन पुगेको थियो । सो क्याम्पको ५० मिटर पश्चिममा रहेको अर्को क्याम्पमा एक बर्ष अघि एक फिलिपिनो नागरिक कामको सिलसिलामा छाना माथि बाट खसेर घटनास्थलमा नै मरेको र त्यसको केहि समय पछि त्यहाँ तैनाथ नाथुरलाई हरेक साँझ घाँटी थिच्न आउने र कहिले पिट्ने गरेपछि सो क्याम्पका नाथुर किशोर मेहरको रुममा आफ्नो क्याम्प छोडेर सुत्न आएको अनुभव बताए । पहिले पहिले पनि यस्तो घटना यदाकदा भैरहेको क्याम्पमा रहने अरुले बताएपनि त्यसलाई आफुले त्यति वास्ता नगरेको बताउने किशोरले थप भने, यहाँ एउटा महिला र एउटा छोरा मान्छेको आक्रृतिमा आउने भुतले क्याम्पमा सुत्ने बंगाली तथा अन्य देशका नागरिकलाई पनि त्यसै गरी दुख दिएको र उनीहरु त्यहि कारणले क्याम्प छोडेर गएको हुन सक्ने बताए । फिलिपिनो नागरिक मरेको क्याम्पमा यो स्टोरी तयार गर्दै गर्दाको करिब २० दिन अघि मात्र अर्का एक नेपाली पनि सुतेकै अवस्थामा मरेपछि अहिले कतै त्यहि आत्मा भट्किएर यति दुख दिएको त होइन ? उनी प्रतिप्रश्न गर्छन् ।

विकासको चरम गतिमा दौडिएको कतारमा यस्ता भूत जसलाई जिन्ह पनि भनिन्छ, सो जिन्ह हुन्छ भन्ने कुरामा उनीहरु प्नि त्यतिकै विश्वाश राख्दछन् । यहाँ त्यस्ता कैयौं घरमा जिन्हले मानिसलाई दुख दिने गरेकोले यहाँका त्यस्ता घर मालिक कतारीहरुले सो घरलाई भूत बंगलाको रुपमा नै रहन दिई अन्यत्र सरेका बारेमा पनि थुप्रै सुन्नमा आउँछ र त्यस्ता भूत बंगला घरहरु पनि देख्न पाईन्छ ।

विज्ञानले प्रमाणित गर्न नसकेको यस्ता भूतप्रेतको बारेमा हरेक देशमा भूत हुन्छन् भन्ने संन्दिग्ध आस्था बोक्नेहरुको कमी भने छैन । आफैं बसेको क्याम्पमा नेपाली दाजुभाईहरु माथि भएको यस्ता घटना प्रकृति र चोटपटक प्रत्यक्ष देखे पनि आफुले अहिले सम्म भूत देख्न सौभाग्य नपाएको हुनाले एउटा पुनः अहिले सम्म बिज्ञानले प्रमाणित गर्न नसकेको सुल्झीन नसकेको रहस्यको बारेमा पंक्तिकार पनि अन्यौलमा नै रहेको छ । साँच्चै के भूत, प्रेतात्मा, जिन्ह हुन्छन् त ?

भूतकै प्रसंगमा लेख्दै गर्दा आफुले नदेखेको भूतको संवाद यहाँ टाँस्न मन लाग्यो ।

दुवै भूतहरु फुर्सदमा बसेर तर्क वितर्क गर्ने क्रममा अर्को भूतलाई सोधेछ ।
भूत कः के साँच्ची नै मान्छे भन्ने चीज यो पृथ्वीमा हुन्छ होला त यार ?
भूत खः धत्, यस्तो नचाहिने कुरो पनि गर्ने ? मान्छे सान्छे भन्ने कुनै पनि प्राणी हुँदैन क्या । त्यो त हाम्रो भ्रम मात्र हो । हामीलाई डराउनलाई त्यतिकै मान्छे भन्ने प्राणी पनि हुन्छन् भनेर हाम्रा जीजुबाजे भूतहरुले कुरा बनाएका मात्र हुन् ।
source http://daily.gulfact.com/%E0%A4%AB%E0%A5%87%E0%A4%B0%E0%A5%80-%E0%A4%AD%E0%A5%81%E0%A4%A4%E0%A4%B2%E0%A5%87-%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%A6%E0%A5%81%E0%A4%96-%E0%A4%A6%E0%A4%BF%E0%A4%A6%E0%A5%88%E0%A4%9B/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment