छोरीको तोते बोली सुनेर कतारमा निदाउने बानी परेका होमबहादुरका आँशुका कथा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

छोरीको तोते बोली सुनेर कतारमा निदाउने बानी परेका होमबहादुरका आँशुका कथा

विदेश जाँदा अर्कैसित बिहे गरेकी श्रीमतीसित होमबहादुरको आग्रह, छोरी मलाई फिर्ता गर

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, चैत ३० – फोनमा रेकर्ड गरेर राखेको छोरीको तोते बोली पटक पटक सुन्नुहुन्छ । तोते बोलीमा छोरीले ‘बाबा’ भनेको आवाजले काभ्रेका होमबहादुर मगरका आँशु अडिदैनन्  । 
बामे सर्ने छोरी छाडेर परदेशिएका होमबहादुरका आँखा छोरी टुकुटुकु हिडेको हेर्ने प्रतिक्षामा छन् । छोरीका कुरा गर्न साथ भक्कानिएका उहाँका आँखामा आँशु टिलपिल भरिएको छ । ‘जब छोरी सम्झन्छु कति बेला आँशु खस्छ थाहा पाउँदिन,’ होमबहादुरले भन्नुभयो । 
२७ वर्षिय होमबहादुर १५ महिना अगाडी छोरी र श्रीमती छाडेर रोजगारीका लागि कतार पुग्नुभयो । शरीर घिसारेर हिड्न सक्ने छोरी कै यादले उहाँलाई परदेशमा सताई रहन्थ्यो । 
छोरी कै उज्वल भविष्य र परिवारको सुखका लागि कतार पुगे पनि फर्के पछि उहाँ एक्लो हुनुभएको छ । आर्थिक अवस्था राम्रो नभए पनि पारिवारिक हिसावले होमबहादुर सुखी हुनुहुन्थ्यो । तर पैसाको जोहो गर्न जाँदा अहिले उहाँको परिवार उजाडिएको छ ।
होमबहादुरलाई कतारमा दिनभरी काममा भए पनि साँझ श्रीमती र छोरीसँग कुरा गरेपछि मात्र निदाउने बानी परेको थियो । तातो घाममा पुल बनाउने ठाउँमा काम गर्ने होमबहादुरको पिडा सुत्ने बेलामा छोरीको तोते बोलीले बिर्साउँथ्यो । परदेशको बसाई यसरी नै चलेको थियो । 

श्रीमतीले बिदा माग्दै ‘गएँ है’ भनेको सपना झैं लाग्छ 

सधैं झैं उहाँले दिउँसो तिर नेपालमा रहेकी श्रीमतीलाई फोन गर्नुभयो । तर त्यो दिनको कुराकानी सधैंको जस्तो थिएन । श्रीमतीले म त ‘अर्कैसँग गएँ’ भन्दा होमबहादुरको बोली लरबराए । टाउको गह्रुङ्गो भयो ।  
‘मैले छोरीका लागि पनि बस भनें । तर उनले जहाँ पुग्छु त्यही आगो फुक्छु भनिन्’ होमबहादुरले भन्नुभयो ‘मलाई छाडेर अरुसँगै बिहे गरेर गइन् ।’
श्रीमतीले बिदा माग्दै ‘गएँ है’ भनेको होमबहादुरलाई सपना झैं लाग्छ । विदेश गएको पाँच महिना पछि छोरी समेत लिएर होमबहादुरकी श्रीमतीले अर्कैसित बिहे गरिन् । 
धेरै दिनसम्म त होमबहादुरलाई विश्वास नै लागेन । पटक पटक फोन गरेर रुँदै श्रीमतीलाई घर फर्क भनेर आग्रह पनि गर्नुभयो । 
अर्कैसँग गएको श्रीमती भए पनि छोरीको मायाले उहाँले श्रीमतीलाई महिनौंसम्म फोन गरिरहनु हुन्थ्योे । छोरीसित पनि बोल्नु हुन्थ्यो । 
यो क्रम झण्डै पाँच महिना चलिरह्यो । तर श्रीमतीले मोवाइल नम्बर नै परिवर्तन गरेपछि छोरीको आवज सुन्न नपाएर होमबहादुरको मन अत्तालिएको छ । 
उहाँकी छोरी र श्रीमती हिजोआज कता छन् भन्ने उहाँलाई पत्तो छैन् । अर्कैसित बिहे गरेकी श्रीमतीको याद त उहाँलाई आउँछ । तर त्यो भन्दा धेरै माया छ छोरीको । उहाँको एक मनमा छोरी कतै भेटिएला कि भन्ने आश पनि छ । 
श्रीमतीले छाडेर गएपछि होमबहादुलाई न मरी जानु न गरिखानु भने झैं भयो । कतारमा होमबहादुरका दिन रोएरै बितेका थिए । ‘मैले त आत्माहत्या नै गर्न खोजेको थिएँ । तर साथीहरुले सम्झाए’ यत्ति कुरा सुनाउँदा होमबहादुरका आँखाभरी आशु थियो । 
श्रीमती र छोरी नभएपछि उहाँलाई जीवन जिउने आश मरेको थियो । परदेशको ठाउँ भएपनि दुःखको बेला होमबहादुरले नेपाली साथीभाइकै साथ पाउनु भयो । ‘बिरानो ठाउँमा साथी नभएको भए त मेरो लास आउथ्यो’ होमबहादुरले भन्नुभयो । 
साढे तीन वर्ष अघि सत्यनारायण पूजामा देखादेख भएकी महिलासित उहाँले बिहे गर्नुभयो । एकै झलक देख्दा मन परेकीलाई उहाँले बेहुली बनाउनु भयो । 
त्यो बेलामा होमबहादुरकी श्रीमती सात कक्षामा पढ्नुहुन्थ्यो । सात कक्षामा पढ्ने भएपनि उमेर २० वर्ष भैसकेको थियो । दुवै जनाको सल्लाहमा चिनजान भएको एक महिनामा भागी बिहे गर्नु भयो । 
‘स्कुल जाँदा उनी अघि अघि हिँडिन । म पछि पछि । स्कुल नपुग्दै भाग्यौं’ होमबहादुर भन्नुहुन्छ, ‘गरिब छु । पछि छाडेर जान पाइन्न नि भन्दा हुन्छ भनेकी थिइन् ।’
मन परेको मान्छे पाए पछि उहाँलाई संसारै जिते जस्तो लाग्यो । भागेर केहि दिन काठमाडौंमा लुके पछि फेरि घर फर्किनु भयो । दैनिकी सामान्य नै चल्दै थियो । 

कम्पनी टुटेपछि ऋण तिर्न सकिएन 

परिवारको राम्रो आर्थिक अवस्था नभए पछि होमबहादुरले विदेश जाने निधो गर्नुभयो । ऋणले पुरे पनि परिवारको साथले तिरोभरो गर्ने विश्वास बटुलेका होमबहादुर कम्पनी टुटेपछि १५ महिनामा नेपाल फर्किनु भयो । 
होमबहादुरले परदेशमा कमाएको पैसाले न ऋण तिर्न सक्नु भएन । अब परिवार पनि एकाघर रहेन । उहाँको जस्तै धेरै नेपालीको कथा छ । कमाउने, जमाउने र सुन्दर भविष्यको सपना बोकेर विदेशिएका धेरैको घरबार उजाडिएको छ ।
श्रीमतीले अर्कैसँग किन बिहे गरिन्, त्यसको कारण होमबहादुलाई थाहा छैन् । ‘मैले गल्ती गरेको भए क्षमा माग्छु । सक्छौ भने माफ गर ।’ 
हिजोआज उहाँलाई छोरीको चिन्ता छ । अर्काकी भइसकेकी आमाले छोरीलाई कसरी पालेको छ भन्ने कुराले उहाँलाई सताई रहन्छ । ‘तिमी पो म भन्दा माया गर्ने मान्छे पाएर गयौ । मेरो छोरीलाई त मैले जस्तो माया नपाउला । मेरो मुटुलाई मेरै घरमा छाडिदिएको भए हुन्थ्यो ।’ यी कुरा भनिसक्दा होमबहादुरका भक्कानो छुटे । 
उहाँलाई छोरी सँगै लिएर गएकोमा श्रीमती प्रति गुनासो छ । श्रीमतीसँग होमबहादुरको एउटै आग्रह छ, ‘जहाँ भए पनि मैले जस्तै माया दिएर छोरीलाई राखिदेउ ।’
होमबहादुर विदेशबाट फर्किए पछि ललितपुरको एकान्तकुनामा रहेको प्रवासी नेपाली एकता सञ्जालमा नियमित परामर्शमा हुनुहुन्छ । परामर्शबाट उहाँमा निकै सुधार आएको सञ्जालका रमेश बैदावारले बताउनु भयो ।
source :-http://ujyaaloonline.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment