Loading...
हेर्नुहोस भिडियो
वैशाख २५ – सप्तरीको कडरबोनाका सन्तोष कुमार राम २०५४ सालदेखि काठमाडौंको गार्मेन्टमा काम गर्नुहुन्थ्यो । उहाँले दिनमा दुई सय रुपैयाँ ज्याला पाउनुहुन्थ्यो । काठमाडौंमा काम गरेको चार वर्ष पुगेपछि यहाँ भन्दा राम्रो काम कमाई हुने सुनेपछि उहाँ भारतको दिल्ली पुग्नुभयो गार्मेन्टकै काम गर्न । दिल्लीमा सन्तोषले महिनाको ६५ सय भारु कमाउनुभयो ।
सन्तोषको कमाईले धनुषामा परिवारको खर्च चलिरहेको थियो । त्यसैले ७ वर्ष दिल्लीमै बिताउनुभयो । त्यसपछि घर फर्किएका सन्तोषलाई परिवारले कर गरेपछि बिहे पनि गर्नुभयो । बिहे गरेपछि भारत नगई बसेका सन्तोषलाई गाउँबाट आफूभन्दा साना भाइहरु विदेश गएको देखेपछि भारत होइन खाडीका देश नै जान मन लाग्यो । उनीहरुले कमाई पनि गरिरहेका थिए । त्यसैले उहाँलाई पनि विदेश जान पाए अझै धेरै कमाउन पाइन्थ्यो भन्ने लाग्यो ।
त्यो भन्दा पनि जहाज चढ्ने धोको ठूलो थियो सन्तोषलाई । उहाँसँग ११ वर्ष सिलाईको कामको अनुभव पनि थियो । त्यसैले उहाँले त्यही काममा जोर्डन जाने सोचेर एजेण्ट विजय मण्डललाई राहदानीसहित ४० हजार रुपैयाँ पनि दिनुभयो । दुई महिनामा काम हुन्छ भनेका एजेण्ट ५ महिनासम्म बेपत्ता भए । फोन गर्दा काम भइहाल्छ भन्न चाहिँ छोडेका थिएनन् । तर सन्तोषलाई भने हतार लागिरहेको थियो । ‘म जति सक्दो छिट्टो उड्न चाहन्थे तर काम भइरहेको थिएन’ सन्तोष भन्नुहुन्छ ।
राहदानी लिए पनि भिसा लगाउन नसकेपछि उहाँले राहदानी फिर्ता लिनुभयो । विजय मण्डलसँग फिर्ता लिएको राहदानी उहाँले जोर्डन नै जान गाउँकै एजेण्ट सकलदेव पण्डितलाई दिनुभयो । सकलदेवले उहाँलाई एक लाख ३५ हजार रुपैयाँ लाग्छ भनेका थिए । उहाँले राहदानी दिएको झण्डै तीन महिनापछि सकलदेवले भिसा दिँदै टिकटका लागि २० हजार रुपैयाँ लिए ।
त्यसको केहिदिनमै सबै प्रक्रिया पूरा भयो भन्दै बोलाएपछि सन्तोषलाई काठमाडौं जान भने । उड्न तयार भएर काठमाडौं जान लागेका सन्तोषसँग सकलदेवले ५ हजार छुट भयो भन्दै एक लाख दश हजार रुपैयाँ लिए । सकलदेवलाई पैसा दिने बेलामा सन्तोषले एक लाख ३५ हजार रुपैयाँ दिएको भरपाई चाहिँ बनाउनुभएको थियो ।
उहाँ उड्न सकलदेवले भनेको म्यानपावरमा त पुग्नुभयो तर म्यानपावरले भिसाको म्याद सकिएको भनेपछि सकलदेवले ठगेछन् भन्ने थाहा पाउनुभयो । त्यतिबेलै उहाँले सकलदेवलाई फोन गर्नुभयो तर सम्पर्क भएन ।
विदेश जाने प्रक्रिया सुरु गर्दा नै उहाँले राजविराजमा रहेको सूचना केन्द्रमा पुगेर समस्या पर्यो भन्ने के गर्ने भनेर बुझ्नुभएको थियो । त्यसैले सूचना केन्द्रले सिकाए अनुसार ३४००१ मा एसएमएस गर्नुभयो ।
एसएमएसले सबै ठिकै देखाएपछि उहाँ अन्योलमा परेर घर फर्किनुभयो । गाउँ फर्किएका सन्तोषले गाउँमा छलफल गराउँदा सकलदेवले कतार पठाइदिने बताए । तर एक वर्ष हुँदा पनि कतार पठाएन । न त पैसा नै फिर्ता दिए ।
सूचना केन्द्रले छलफल गर्न बोलाउँदा सकलदेव आउनै मानेनन् । सूचना केन्द्रले बोलाउँदा नआएपछि सन्तोषले बोदेबरसाईन प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालयसम्म निवेदन दिनुभयो । सन्तोषसँग सकलदेवलाई एक लाख ३५ हजार दिएको प्रमाण थियो । त्यसैले उहाँले त्यही प्रमाण प्रहरीमा बुझाउनुभयो ।
त्यही प्रमाणका आधारमा प्रहरीले सन्तोषलाई एक लाख ३० र त्यसको ४० हजार रुपैयाँ व्याज सहित एक लाख ७० हजार फिर्ता गराइदियो । जहाज चढ्ने हतारोमा ठगिएका सन्तोष ठगिनुभयो तर प्रमाण भएकाले उहाँले एजेण्टलाई दिएको पैसाको व्याज सहित ४० हजार थपेर फिर्ता पाउनुभयो । त्यसैले अब यस्ता कुरामा सचेत हुन उहाँ बताउनुहुन्छ ।श्रोत उज्यालो अनलाइन
Post a Comment