कतार जाने सोचमा हुनुहुन्छ ? कतार बारे बुझ्न यो लेख पढ्नुहोस

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
देशको नामः कतार (अरेबिकमा यसलाई दौलत कतार भनिन्छ)
भौगोलिक स्थानः यो मध्यपूर्व क्षेत्रस्थित अरबखाडीको उत्तरी तटमा अवस्थित एउटा सानो मुलुक हो। यसको दक्षिणी सिमाना साउदी अरबसित जोडिएको छ भने तीनतिर समुद्रीतट छ। ११,४३७ वर्ग किलोमिटरमा फैलिएको यो सानो मुलुक संसारको सम्पन्न देशहरु मध्ये एक गनिन्छ।
राजधानीको नामः दोहा
अन्य शहरहरुः अलखोर,शमाल, अलरैयान, दुखान, अलवक्रा आदी
स्थानीय भाषाः अरबी भाषा यहाँ बोलिने स्थानीय भाषा हो। यो सरकारी कामकाजको भाषा पनि हो । यसका साथै अंग्रेजी तथा हिन्दी उर्दु यहाँ सहायक भाषाका रुपमा चल्तीमा छन् ।
धर्मः इस्लाम धर्म शतप्रतिशत
राजकीय तथा प्रशासनिक पद्दतिः संवैधानिक राजतन्त्र
मुद्राः कतारी रियाल
मौसमः मरूभुमी क्षेत्रमा अवस्थित कतारको मौसम अनुपात अधिकतम गर्मी तथा अपेक्षाकृत जाडो हुन्छ । यहाँको तापक्रम औसतमा २५ देखि ४६ डिग्री सेल्सियसमा रहन्छ । ५१ डिग्री सेल्सियससम्म यहाँको तापक्रम बढ्न सक्छ । मौसम परिवर्तनबीच वर्षा हुने भएपनि यहाँको औसत वर्षा वार्षिक ७५.२ एमएम मात्र छ ।
कृषी उत्पादनः मुख्य तथा पारम्परिक रुपमा खजुर खेतीका अलावा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन एवं उँट पालन यहाँको कृषिमा देखिने उत्पादन हुन् ।
औधोगिक उत्पादनः पेट्रोल,ग्यास, मल तथा सिमेन्ट ।
सार्वजनिक विदाहरुः प्रत्येक वर्ष १८ दिसम्वरलाई यहाँ राष्ट्रिय दिवसका रुपमा मनाइन्छ भने इस्लामिक पर्व ईदूल फित्रमा ४ दिन, इस्लामिक पर्व ईदूल अध्हा (बक्रईद)मा ५ दिन सार्वजनिक विदा हुन्छ । हप्ताको २ दिन शुक्रवार र शनिवार यहाँको सरकारी साप्ताहिक विदा हुन्छ ।
स्थानीय खानाः खबुज वा खबुस (रोटी), मच्बुश (प्रचुर मात्रामा चामल, माछा, मासु अथवा तरकारीसित मिलाएर पकाइने भात) यहाँको पारम्परिक खाना मानिन्छ । यसका इलावा तुर्की, लेबनानी, मिश्री तथा अन्य महाद्विपीय खाना स्थानीय स्तरमा प्रचलित रहेका छन् ।
क्यालेंडरः इस्वी सम्वत यहाँको वार्षिक क्यालेन्डर हो ।
पोशाकः
पुरुषः थौब अथवा थोप (उच्चारणमा ’तोप’) माथिदेखि खुट्टासम्म फैलिएको सेतो रंगको कमिज पारम्परिक रुपमा पुरुषहरुले लगाउने पोशाक हो, जसमा टाउकोमा च्यादर जसलाई ‘गत्रा’ भनिन्छ भने गत्रामा एक प्रकारको रिंग जस्तो मोटो कालो डोरी शिरमा रहन्छ, यसलाई अरबिकमा ‘अगाल’ भनिन्छ । अधिकांश कतारी नागरिकले यो पोशाक नै पहिरिने गर्दछन् । यो यहाँको सरकारी पोशाक समेत हो ।
महिलाः परम्परागत तथा इस्लामिक संस्कृति झल्किने महिलाको पोशाकलाई हिजाब भनिन्छ, जुन कालो रंगको हुन्छ । पुरै शरीरलाई एकसाथ घाँटीदेखि खुट्टासम्म ढाक्ने जसलाई अबाया भनिन्छ भने टाउकोदेखि घाँटी अथवा छातीसम्म पहिरिने जसलाई शैएला अथवा शल भनिन्छ. अधिकांश स्थानीय महिलाले यो पोशाक नै पहिरिने गर्दछन् भने यो यहाँको सरकारी पोशाक समेत हो ।
यातायातः यहाँका बासिन्दाहरु प्राय आफ्नै निजी सवारी साधन प्रयोग गर्नमा रुची राख्दछन्। यसका इलावा सार्वजनिक सरोकारका लागि सरकारी स्वामित्वमा रहेका सार्वजनिक ट्याक्सी तथा बसहरु, निजी स्वामित्वमा रहेका ट्याक्सी, लिमोजिन कारहरु रहेका छन्।
पर्यटनः पर्यटन विकासलाई कतारले विशेष प्रोत्साहित गरेको छ । मुख्य गरी पारम्परिक तथा अरबिक संस्कृति, मरूभुमी क्षेत्र लगायत नयाँ विकासको गति यहाँको प्रमुख आकर्षण हुन् भने खेलकुद तथा विभिन्न अन्तरराष्ट्रिय सम्मेलनहरुको माध्यमबाट पर्यटन विकासमा कतारले धेरै मिहिनेत गरी रहेको छ ।
किनमेल तथा मार्केटहरुः कतारी नागरिक लगायत करीव ३२ मुलुकबाट रोजगार, व्यापार अथवा अन्य सरोकारका लागि यहाँ रहेका मानिसहरुको आ–आफ्ना रीतिस्थिति तथा सबै तहका मानिसहरुको आवश्यकतालाई ध्यानमा राखेर सयौं ठुला मार्केटहरु, सरकारद्वारा संचालित सयौं किनमेल तथा उपभोक्ता केन्द्र स्थापना गरेको छ । बजार तथा भाऊ व्यवस्थापन, अनुगमनमा सरकारको राम्रो दखल रहेको छ । यहाँ प्रत्येक चोक वा बस्तीमा साना वा ठुला मार्केटहरु उपलब्ध छन् । साथै कतारमा नेपालहरुको जहाँ बाक्लो उपस्थिति छ, ति प्राय ठाउँहरुमा नेपाली रेस्टुरेन्टहरुलाई पनि सजिलै पाउन सकिन्छ।
करः वैदेशिक रोजगारमा आउने सबै तहका कामदारको लागि यहाँको सरकारले सम्वबन्धित कम्पनी मार्फत ’इकामा’ परिचयपत्रको प्रबन्ध गरेको हुन्छ। यस्तो परिचयपत्र कुनै एक कम्पनी मातहत रहेर प्राप्त गरिन्छ । कामदारले कुनै प्रकारको कर तिर्नु नपरेपनि इकामा प्राप्त गर्नलाई कम्पनीले वर्षेनी १२५० कतारी रियाल सरकारलाई तिर्नु पर्छ । अर्थात काम गराउने निकाय वा कम्पनीले कामदारको दैनिक कर ३.४२ रियाल तिर्नु पर्दछ ।
ट्राफिक नियम तथा जरिवानाः कतारमा यातायातको तथा सवारी नियम सम्वन्धमा विशेष कडाई हुन्छ । सवारी सम्बन्धी कुनै पनि नियम विपरित गरेको पाएमा कसुर बमोजिम ५०० देखि ५०,००० कतारी रियालसम्म जरिवाना तिर्नु पर्ने हुन्छ । कसुरको प्रकृति हेरेर जेल सजाँयसम्मका नियमहरु रहेका छन् ।
कतारमा काम सम्वन्धी वातावरण र अवस्थाः
मौसमलाइ मध्ये नजर गर्दै, हरेक ऋतु परिवर्तनसँगै, खासगरी गर्मीको मौसममा यहाँको तापक्रम अत्यधिक रहने हुनाले सरकारले काम गर्ने-गराउने समय निर्धारण गर्ने गर्दछ, बिशेष गरी निर्माण क्षेत्र जस्ता खुल्ला क्षेत्रमा काम गर्ने समयलाई कतार सरकारले मौसम अनुसार निर्धारण गरेको हुन्छ ।
सामान्यतया, निर्माण क्षेत्रमा सबेरै ५ बजे देखि काम गर्ने गराउने गरिन्छ । सरकारी कामहरु, प्राइभेट कार्यालयहरु प्रायः बिहानदेखि नै शुरु हुन्छन् ।
नयाँ विकासको पथमा रहेको कतारमा मुख्य गरी कामको क्षेत्र भनेको निर्माण सम्बन्धी नै हो । त्यसका अलावा र्माकेटिङ्ग तथा उपभोक्ता केन्द्र अर्को क्षेत्रमा पर्दछ । होटेल, रेस्टुरेन्ट, साना-ठुला सुपरमार्केट, खेलकुद, स्वास्थ्य तथा सेवा-सुविधाका क्षेत्रहरु पनि यहाँको लागि काम गर्ने आकर्षक थलो हो ।
कतार सरकारले तोकेको क्षेत्र तथा मापदण्डभित्र कामदारहरुको आवास हुन्छ वा हुनुपर्दछ । कामदार जुन कम्पनी वा निकायमा काम गर्दछ, बस्ने व्यबस्था मिलाउने कर्तव्य (जिम्मेवारी) कम्पनी वा निकायको हुन्छ । स्वास्थ्य सम्बन्धी जिम्मेवारी काम गराउने कम्पनी वा निकायको हुन्छ भने खाने व्यवस्था कम्पनीको नियम तथा करारनामा अनुरूप हुन्छ ।
कतार सरकारले कुनैपनि कामदारको हकमा वेतन सम्बन्धी न्यूनतम तथा अधिकतम मापदण्ड तय गरेको छैन । त्यसैले तलब लगायतको सुविधामा काम गर्ने र गराउने दुबैबीच आपसी सम्झौता र समझदारीलाई यहाँको सरकारले मान्यता दिने गरेको छ । यधपी यहाँको नेपाली दुतावासले विभिन्न कामदारको हकमा तलव सुविधाको न्यूनमत मापदण्ड भने बनाएको छ । जस्तै, अदिक्षित (तालिम प्राप्त नगरेको) हकमा मासिक वेतन ९०० र खानाको लागि ३०० गरी १२०० कतारी रियाल न्यूनतम रुपमा करारनामामा उल्लेख नभई करारनामा स्वीकृत गर्ने गरेको छैन ।
वैदेशिक रोजगारमा आउँदा सम्बन्धीत (कतारको) देशको अवस्था त्यहाँको चलनचल्ती, सामन्यतया यहाँको कानून व्यवस्था, भाषा तथा कामको प्रकृतिको सामान्य ज्ञान हुनु आवश्यक छ । यी सामान्य ज्ञान लिएर यात्रा तय गर्ने हो भने चुनौती घटेर जाने र अवसरहरु बढेर जानेछ ।
त्यसैगरी यहाँ काम गर्ने व्यक्तिको सुरक्षाको जिम्मा सम्बन्धीत कम्पनीको भएपनि स्वयं कामदारले सुरक्षा तथा जोखिमलाई कम गर्न आफ्नो र आफ्नो क्षेत्र र सीपको सामान्य जानकारी राख्न एकदमै जरुरी हुन्छ ।
सन् २०१५मा कतार सरकारले नेपाली दुतावासलाई दिएको पछिल्लो तथ्यांक अनुसार कतारमा करीव ३ लाख ७३ हजारभन्दा बढी नेपालीहरु रहेका छन् । यसैले कतार नेपालीहरुको लागि ठुलो र महत्वपूर्ण रोजगारदाता मुलुक हो । त्यसैले यहाँको भौगोलिक, सामाजिक, साँस्कृतिक, रहनसहन, काम तथा काम गर्ने कम्पनी सम्बन्धमा सामान्य ज्ञान राख्न सक्ने हो भने वैदेशिक रोजगार सुरक्षित त हुन्छ नै आफ्नो सुरक्षा तथा सम्भावित सबै जोखिमबाट हामी निस्कन सक्छौं ।
रोचक तथ्यः
करीव ३२ मुलुकका कामदार यहाँ काम गर्दछन् ।
कामदार संख्याका हिसाबले कतारमा नेपाली समुदाय दोस्रो ठुलो समुदाय हो ।
कतार सरकारले विभिन्न अवसरमा नेपाली कामदारहरुलाई प्राथमिकतामा राखेर विविध कार्यक्रमहरुको आयोजना गर्ने गर्दछ ।
तुलनात्मक रुपमा अन्य मुलुकका कामदारको तुलनामा नेपाली कामदार कम-दीक्षित (कम तालिम प्राप्त) भएतापनि सबैभन्दा इमान्दार र विश्वासिलो समुदायको रूपमा नेपाली कामदार र समुदाय अगाडी छन् ।
सामान्यतया कुनैपनि दोकान, रेस्टुरेन्ट, मार्केट र अफिसहरुमा नेपालीहरु सेवामा रहने हुनाले संवादमा खासै समस्या देखिन्न, तर पनि अरबीक वा अंग्रेजी भाषाको (सामान्य) जानकारी लिंदा सामान्य कुराकानी गर्न सजिलो हुनेछ।

from https://shuvayatra.org/post/119

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment