९० प्रतिशत बुद्धधर्म मान्ने थाइल्यान्डका ८० प्रतिशत थाई जनतालाई नै बुद्ध नेपालमा जन्मेको हो भन्ने जानकारी छैन

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
पत्ताया सिटी ,थाइल्यान्ड, १२ मङ्सिर – थाइल्यान्डमा झन्डै ९० प्रतिशत जनता बुद्धधर्म मान्छन् । यस मुलुकको प्रमुख आम्दानीको स्रोत पर्यटन व्यवसाय हो र यहाँ बर्सेनि दुई करोडभन्दा बढी विदेशी पर्यटक भित्रिने गर्दछन् ।


यहाँका स्थानीयवासी बुद्ध शब्द सुनेर हुरुक्कै हुने गर्छन् । उनीहरुले असाध्यै स्नेहका साथ भक्तिभाव गर्ने दुईमा एक बुद्ध हुन् भने अर्का यहाँका राजा हुन् । हालै मात्र स्वर्गीय भएका राजा भूमिबोल अदुल्यादेजका ठूल्ठूला तस्बिर यहाँका प्रमुख सहरहरुमा देख्न सकिन्छ । घरघर र व्यवसाय स्थलमा बुद्धभक्तिका लागि तस्बिर र माला राखिएका पाइन्छन् । उनीहरु जीवनमा एकपटक बुद्ध जन्मेको ठाउँ नपुगे मनोकाङ्क्षा पूरा नभएको महसुस गर्ने गर्दछन् । तर दुर्भाग्य यिनै अधिकांश थाईलाई बुद्ध जन्मेको देश नेपाल हो भन्ने जानकारी नै छैन । उनीहरुमध्ये धेरै नेपाल जान्छन् र बुद्ध जन्मस्थल लुम्बिनी घुम्छन् । यति गरेपछि सङ्कल्प र मनोकाङ्क्षा पूरा भएको ठान्छन् ।

यस्ता सबै काम भारतीय ट्राभल एजेन्सीले गर्ने हुँदा उनीहरुलाई भारतका विभिन्न क्षेत्र हुँदै लुम्बिनी मात्र पुर्याइने तर लुम्बिनी नेपाल भूखण्डभित्र छ भन्ने जानकारी नै हुँदैन । भारतमै लुम्बिनी पर्छ भन्ने भ्रम पनि उनीहरुमा छरिएको पाइएको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) थाइल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकाल बताउछन् । नेपालबाट थाइल्यान्ड घुम्न आएका पर्यटकलाई यहाँका थाईले भारतीय नै भनेर चिन्ने र व्यवहार जनाउने कुराले पनि यो तथ्यलाई थप प्रस्ट पारेको छ । हाल नेपालबाट थाइल्यान्डमा सातदिने भ्रमणमा आएका चितवन भरतपुरका सरोज ढकाल आफूहरुलाई पनि पटकपटक भारतीय भनेर व्यवहार गरेको सुनाउछन् ।
उनले नेपालका बारेमा थाई जनतालाई खासै जानकारी नभएको तर भारतकै एउटा ठाउँ हो भनेर सम्झने गरेको पाइएको बताए । नेपाली र भारतीयको आनीबानी धेरै मिल्ने हुँदा थाई जनतालाई यस्तो लागेको हुनसक्छ । एनआरएनएका अध्यक्ष ढकाल भन्छन्, “बुद्ध जन्मिएको देश भनेर नेपाललाई चिनाउन नसक्दा हामी पछिपरेका छौँ, दर्शनीय बौद्ध तीर्थस्थललाई विश्वसामु चिनाउन सके, नेपाल एक अन्तर्राष्ट्रिय पर्यटकीय र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।” बुद्धधर्म मात्र नभएर दर्शन भएकाले अन्य धर्मावलम्बीले पनि बुद्ध जन्मिएको ठाउँलाई हेर्न, दर्शन गर्न र अध्ययन गर्न चाहना गर्ने गरेको थाइल्यान्डमा प्राध्यापन पेसामा संलग्नसमेत रहनुभएका ढकाल बताउछन् ।

जब नेपाली आफ्नो देशमा रहन्छन्, त्यतिबेला बुद्धको महत्व कम हुने गरेको र विदेशमा आएपछि थप महत्व बोध हुने गरेको थाइल्यान्डमा लामो समय बसोबास गर्दै आएका नेपालीहरु बताउँछन् । थाइल्यान्डमा करिब तीन हजार पाँच सयको हाराहारीमा नेपाली बस्छन् जसमध्ये आधाभन्दा बढी अध्ययनका लागि आएकाहरु हुन् । अस्ट्रेलिया र अमेरिकाको अध्ययनपछि प्राध्यापकका रुपमा स्थापित एनआरएनएका अध्यक्ष ढकाल भन्छन् , “सारा बौद्ध जनताको सपनालाई ‘क्यास’ गर्न सकियो भने नेपाल आफैँ पर्यटन क्षेत्रमा समृद्ध बन्छ ।” नेपालबाट थाइल्यान्ड आएका केही मानिस पर्यटन व्यवसायमा आबद्ध छन् । केही रोजगारीमा छन् । कतिपय अन्तर्राष्ट्रिय नियोग, संयुक्त राष्ट्रसङ्घजस्ता महत्वपूर्ण कार्यालयमा पनि काम गर्ने गर्छन् । नेपाली यहाँ एक्लैभन्दा पनि समूहमा व्यवसाय गर्न रुचाउँछन् । यहाँ शान्तिसुरक्षाको अवस्था सहज र प्रभावकारी हुँदा काम गर्न र व्यवसाय गर्न सजिलो हुने गरेको नेपाली व्यवसायीहरु बताउँछन् । दुई दशकदेखि घरजग्गाको कारोबारमा जम्नुभएका एनआरएनए थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ थाइल्यान्डको भन्दा बढी सम्भावना नेपालमा देख्नुहुन्छ । नेपालकै कमजोरीका कारण थाइल्यान्डमा पर्यटकको ओइरो लाग्दै गर्दा यहाँ बस्ने नेपाली टुलुटुलु हेरेर मात्रै बस्न बाध्य भएको उनको भनाइ छ ।

थाइल्यान्डमा पर्यटक समुद्रको मजा लिन आउँछन् । उनीहरु पानीजहाज चढ्ने, समुद्रमा डुबुल्की मार्ने, बालुवामा सुत्ने र ‘सन बाथ’को मनोरञ्जन लिने, समुद्रमाथि उड्ने रहर बोकेर आएका हुन्छन् । मुख्य रुपमा थाइल्यान्डसँग इन्डियन महासागर जोडिएको छ । बीचबीचमा टापूहरु छन् जसलाई थाई जनताले पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गरेका छन् । पर्यटकहरु विभिन्न टापूमा पुगेर प्याराग्लाइडिङ समेत गर्दछन् । एनआरएनका उपाध्यक्ष श्रेष्ठ नेपालमा हिम शृङ्खला, दुर्लभ वन्यजन्तु सहितका निकुञ्ज र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ र यिनै हेरेर रमाउन पर्यटक नेपाल पुग्छन् । यसको महत्व बुझ्न र बुझाउन नसक्दा नेपाल ओझेलमा परेको उनी बताउछन् । थाइल्यान्डमा बाह्रै महिना चर्को गर्मी हुन्छ । यही मौसमलाई समेत उनीहरुले सदुपयोग गरेर पर्यटक भित्र्याएका छन् । नेपालमा बाह्रै महिना पङ्खासमेत राख्न नपर्ने स्थान छन् । हरेक किसिमका वातावरण नेपालमा हुनु आफैँमा विशेषता भएपनि यसलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन नसक्नु मुख्य कमजोरी भएको श्रेष्ठको भनाइ छ ।

विगत १३ वर्ष थाइल्यान्डमा कपडा व्यापारमा सक्रिय रहेर हाल नेपालमा समेत व्यवसाय थाल्नुभएका भरतपुरका प्रकाश सुवेदी थाइल्यान्डमा रहेका नेपालीले नेपालमा पर्यटक पठाउन विभिन्न गतिविधि तथा मेला/महोत्सव गर्दै आएको बताउछन् । सन् २०१४ र २०१५ मा थाइल्यान्डमा नेपाल महोत्सव नै गरेर प्रचार गरिए पनि पूर्ण नभएको उनको भनाइ छ । यस अभियानमा एनआरएनएसँगै नेपाल सरकारले पनि पहल गरिदिए प्रभावकारी हुनसके सुवेदी बताउछन् । पहिलो महोत्सवलाई थाइल्यान्डकी राजकुमारीले उद्घाटन गर्दा माथिल्लो तहसम्म प्रचार पुगेको दाबी थाइल्यान्डमा रहेका नेपालीको छ ।

उनीहरुका अनुसार ९० प्रतिशत थाई जनता बुद्धधर्म मान्छन् तर ८० प्रतिशतभन्दा बढीलाई बुद्ध नेपालमा जन्मिएको भन्ने नै जानकारी छैन । यहाँ अन्तर्राष्ट्रिय रुपमा बुद्ध जयन्तीलाई ‘बेशाक’ भनेर मनाउने गरिए पनि प्रचारको कमी छ । थाइल्यान्डमा रहेका नेपालीले यो दिनमा सडकमा र्यालीसमेत निकाल्छन् । मुख्य रुपमा थाई र यहाँ भित्रने पर्यटक नेपालमा लैजान थाई भाषामै प्रचार गर्नुपर्ने र यसका लागि दूतावास, नेपाल सरकार र एनआरएनएको संयुक्त पहल जरुरी रहेको सुवेदी बताउछन् ।

नेपालको विमान थाइल्यान्डमा दैनिक उडान गरी थाइल्यान्डको समुद्रसँगै नेपालको हिमालको पनि अवलोकन गराउन सकिए थाई जनता र थाइल्यान्ड आउने पर्यटकलाई नेपाल भित्र्याउन सकिने सुवेदी बताउछन्। रासस

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment