युएईबाट पठाएको पैसा परिवारको हात नपर्दै हृदयघातका कारण मनोजको मृत्यु :

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

पुस १ – उमेर २४ वर्ष । घर सुदुरपश्चिम । झट्ट हेर्दा लाउँलाउँ खाउँखाउँको उमेर । लवाइखुवाइ पनि राम्रै । व्यायम निरन्तर गर्ने भएकाले राम्रै ज्यान बनेको थियो । महिनाको झन्डै ५० हजार रुपैयाँ जसोतसो बच्ने । त्यसरी सुखदुःखले कमाएको ५० हजार महिना बिराएर पालैपालो नेपाल पठाउने गर्दथे ।
गएको सोमबार नेपालमा भएको परिवारलाई घरखर्चसहित व्यवहारिक हिसाबकिताबका लागि भन्दै युएईको अजमानमा कार्यरत कन्चनपुर ६ बनगाउका मनोज ठगुन्ना भरत सिंहले साथी प्रज्वलसँग मिलेर घरमा एक लाख रुपैया पैसा पठाउनु भएको थियो ।
साँझपख पैसा पठाएर मनोज सहकर्मी प्रज्वलसँगै आफूबस्ने कम्पनीको कोठामा आउनुभयो । घरमा पैसा पठाएकोबारे कोठामै आएर काठमाडाैमा बुवाआमासँगै बस्ने दाइभाउजुलाई फोन गरेर पैसा पठाएको नम्बर टिपाउनु भयो । ‘आज पैसा पठाएँ । भोली पैसा पाउनुहुन्छ निकाल्नुहोला’ फोनमा मनोजले यही कुरा दोहोर्‍याएर भन्नुभएको थियो ।
फोनमा कुरा गरेर सकेर मनोजले कोठामा साथीहरुसँगै मिलेर खाना पकाउँदै गर्दा उहाँलाई छाती दुख्न सुरु भयो । सहकर्मीहरुले खाना खान बोलाउदा छाती दुख्यो भन्दै ओछ्यानबाट उठेर आउनु भयो । खाना खाएर बिस्तारामा पल्टिएका उहाँको छाती दुखिरहेकै थियो ।
साथीभाइले अस्पताल जाउँ, एम्बुलेन्स बोलाउँछौ भन्दा आत्तिनु पर्दैन खटाउछु बरु पानी दिनुस् न भनेर माग्नुभयो । पानी पिएको केही छिनमा उहाँ अचेत हुनुभयो । सहकर्मीहरु आत्तिएर एम्बुलेन्स बोलाए । एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याउदा डाक्टरले उहाँको हृदयघातका कारण ज्यान गईसकेको बताए ।
हिजो पैसा पठाएको मान्छे । घरमा पैसा पाए नपाएको अत्तोपत्तो थिएन । १० महिना पहिले युएईको आबुधाबीमा रहेको अलधाबी कन्स्ट्रक्सन कम्पनीको अजमान शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत मनोज भने सधैंका लागि युएईमै अस्ताई सक्नुभएको थियो । हिजो पैसा पठाउन सँगै गएको र आज सहकर्मीको निधनबारे घरमा कसरी खबर गर्ने ? सहकर्मीहरुलाई अप्ठेरो परेको थियो ।
सहकर्मीहरुले मृतकका दाजुलाई सम्पर्क गरेर मनोजको ज्यान गएकोबारे खबर गरे । परिवारमा रुवावासी छ । मृत्युको खबर पाएको परिवारमा बुवाआमा अहिले अचेत अवस्थामा हुनुहुन्छ ।
यता मृतकको शव सक्दो छिट्टो नेपाल लैजान उहाँका छिमेकी तथा नातेदार सुदुरपश्चिम सेवा समाज युएई अलऐन क्षेत्रीय समितिका अध्यक्ष दिनेश महरा तथा चेतन थापा लागि पर्नुभएको छ । आबुधाबी पुलिस फोर्समा कार्यरत उहाँहरु कामबाट बिदा मिलाएर शव नेपाल पठाउन अस्पताल, प्रशाशन तथा दूतावासको कागजी प्रक्रिया पूरा गर्न खटिनुभएको छ ।
कम्पनीले दिनुपर्ने सेवा सुविधा बापतको रकम खुलाएर आवश्यक सबै प्रक्रिया पूरा गरेर सक्दो छिट्टो शव नेपाल पठाउने दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । मृतकको शव अहिले अजमानको सेख खलिफा अस्पतालमा राखिएको र कम्पनी मालिक युएई भन्दा बाहिर रहेको तथा शुक्रबार र शनिबार सार्वजनिक बिदा हुने भएकोले सोमबारसम्ममा शव नेपाल पठाउने तयारी गरिएकाे छ ।
@ उमाकान्त पाण्डे/उज्यालो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment