नेपाली कामदारको समस्या समाधान गर्न रोजगारदाता मुलुकलाई आग्रह

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं, (कस) ।

नेपालले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकका हक, अधिकारको सुनिश्चिताका लागि सम्बन्धित देशसँग आग्रह गरेको छ । इन्डोनेसियाको बालीमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको १६ औं एसिया प्रशान्त क्षेत्रीय बैठकमा सहभागी भएका श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले रोजगारदातामा मुलुकका श्रममन्त्रीसँगको ‘साइडलाइन’ भेटवार्तामा नेपाली कामदारले भोग्दै आएका समस्याको समाधान गर्न आग्रह गरेको सो मन्त्रालयले जनाएको छ ।

मन्त्री गुरुङले कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री डा. इशा साद ए अल नाएमीसँग कतारमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली कामदारले व्यहोर्नुपरेका विविध समस्याबारे जानकारी गराउँदै कामदारका हकहितको सुरक्षा र कल्याणका लागि कदम चाल्न अनुरोध गरेका थिए । नेपालले पछिल्लो समयमा कतारमा कामदारको पक्षमा भइरहेका सुधारका कामलाई सकारात्मक रूपमा लिएको जनाउँदै त्यसलाई अझै प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

कतारमा रहेका करिब चार लाख नेपाली कामदारले आफ्नो मुलुकको विकास निर्माणमा योगदान पु¥याएको उल्लेख गर्दै भविष्यमा नेपाली कामदारको थप वृद्धि गर्ने तयारी गरिएको कतारी मन्त्रीले बताएको मन्त्रालयले जनाएको छ । नेपालबाट घरेलु कामदार तथा अन्य पेसागत जनशक्तिको आपूर्तिमा समेत विस्तार र विविधीकरण गर्न कतार इच्छुक रहेको कतारी मन्त्रीको धारणा थियो ।

यसैगरी मन्त्री गुरुङले मलेसियाका जनशक्ति विकासमन्त्री वाइवी डाटो रिचाडरियोट अनक जायमसँगको छलफलमा नेपाली कामदारले पछिल्लो समय मलेसियामा बढी समस्या झेल्नुपरेको भन्दै समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका थिए ।

कामदारको पारिश्रमिक तथा सुविधाका विषय, कामदारको व्यक्तिगत परिचयपत्र व्यवस्थापनको समस्या, बिमा तथा श्रम स्वीकृति नवीकरण समेतका विषयमा भेटमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

मलेसियाका मन्त्रीले कामदार पठाउने विषयलाई थप व्यवस्थित गर्न दुवै देशबीच सरकारीस्तरमा श्रमसम्झौतालाई छिटो टुंग्याउनुपर्ने भनाइ राखेका थिए । बैठककै क्रममा मन्त्री गुरुङले साउदी अरेबियाका अन्तर्राष्ट्रिय श्रम मामिलासम्बन्धी उपमन्त्री जियाद इब्राहिम अलसैयादसँग भेतवार्ता गर्दै हाल साउदी अरबमा कार्यरत नेपाली कामदारले रोजगारीका क्रममा ठूलो समस्या भोग्नुपरेकोतर्फ ध्यानाकर्षण गराएको सो मन्त्रालयले जनाएको छ । जवाफमा साउदी मन्त्रीले आफ्नो सरकारले श्रम क्षेत्रमा विभिन्न कानुनी तथा नीतिगत व्यवस्था गर्दै यस क्षेत्रलाई सुदृढीकरण गर्दै लगेको जानकारी गराएका थिए ।
यसैगरी मन्त्री गुरुङले बंगलादेश, श्रीलंका, इरानका श्रममन्त्री, संयुक्त अरब इमिरेट्स (युएई), ओमनका श्रम राज्यमन्त्रीलगायतसँग पनि भेटवार्ता भएको भेटमा सहभागी श्रम मन्त्रालयका प्रतिनिधि डिल्ली बास्तोलाले जानकारी दिए ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment