कतार एयरपोर्टमा समातिएपछि मात्रै अर्सदले आफू कालो सूचिमा रहेको थाहा पाए (कसरि थाहा पाउने कालो सुचिमा परेको )

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

दुर्गाप्रसाद भट्टराई/ सर्लाही ।
चैत २० – सर्लाहीको हरिऔन–११ का अर्सद अहमदलाई भाइले कतारबाट आजाद भिषा पठाउँदा खुशीको सीमा थिएन । साथीभाइ र आफन्तले पनि ‘आजाद भिषा’ त राम्रो हो कमाई पनि राम्रो हुन्छ भनेपछि उहाँलाई कतिबेला कतार पुगौं जस्तै भएको थियो ।

भाइले पठाएकै आजाद भिषामा उहाँ सन् २०१५ जनवरीमा कतार पुग्नुभयो । नेपाल हुँदा उहाँ डकर्मीको काम गर्नुहुन्थ्यो । कतारको करताब कन्स्ट्रक्सन कम्पनीमा उहाँले त्यही काम पाउनुभयो । आफूले जानेको काम गर्न पाउँदा अर्सदलाई सजिलो भयो । कमाई पनि महिनाको ३ हजार रियाल हुन्थ्यो । खाँदा र बस्दा सात आठ सय खर्च हुने भएकाले महिनाको दुई हजारदेखि २२ सय रियाल बचत हुन्थ्यो । ‘त्यसैले काम र कमाइबाट निक्कै सन्तुष्ट थिएँ’ अर्सद भन्नुहुन्छ ।

तर यो राम्रो अवसर धेरै टिक्न सकेन । उहाँलाई कम्पनीले एक वर्षको लागि दिएको अकामा कार्ड (परिचय पत्र) को म्याद सकिने भयो । म्याद थप्न स्पोन्सरको कार्यालयमा पुग्नुभयो तर त्यहाँ पुगेपछि उहाँ होस हराए जस्तै हुनुभयो । त्यहाँ पुगेपछि अर्सदले थाहा पाउनुभयो काम गर्न अनुमति दिएको करताब कन्स्ट्रक्सन कालो सूचिमा परेछ । यसले आफ्नो काम गर्ने समय नथपिने मात्रै होइन प्रहरीले जुनसुकै बेला समाउन सक्ने थाहा पाउनुभयो उहाँले ।

अप्ठ्यारोमा पर्ने थाहा पाएर हात्तिरिँदै साहुलाई भेट्न पुगेका अर्सदलाई कम्पनी कालो सूचिमा परेकाले जति सक्दो छिटो नेपाल फर्किन सुझाव दिए । ‘साहुले हाम्रो कम्पनी र कामदारलाई कतार सरकारले बल्याक लिस्टमा हालिदियो के गर्नु ? काम गर्दा गर्दै ब्ल्याक लिस्टमा परियो, त्यसैले अहिले कतार सरकारले छुट दिएकाले जति सक्दो छिटो फर्क भन्यो ’ अर्सद भन्नुहुन्छ । साहुका कुरा सुनेपछि उहाँ कतारको प्रहरीसम्म पुग्नुभयो । प्रहरीले पासपोर्टमा क्यान्सिल हानिदिएपछि उहाँ गएको जनवरी २० तारिख नेपाल फर्किनुभयो ।

घर फर्किएपछि पनि उहाँलाई घर बस्न मन लागेन । त्यसैले फेरि पनि कतार नै जाने सोचेर कतारमै चिनेजान भएको सर्लाहीको पिपरिया–४ का सेख सामिदलाई सम्पर्क गर्नुभयो । उसले कतारमा पहिलेकै काममा लगाइदिन सक्ने भन्दै एक लाख २० हजार रुपैयाँ मागे । तर अर्सदसँग पैसा थिएन । त्यसैले सुरुमा ५० हजार रुपैयाँ दिने अनि बाँकी पैसा कतारमै आएर दिने प्रस्ताव राख्नुभयो अर्सदले । अर्सदको प्रस्तावमा सहमत भएकाले समिरले आफ्नो भतिजो काठमाडौंमै भएको भन्दै उसैले सबै प्रक्रिया गरिदिने बताए ।

दुई महिना अघि काठमाडौं आएका अर्सजले सामिदका भतिज आसिजलाई भेटेर पासपोर्टसँगै ५० हजार रुपैयाँ पनि जिम्मा लगाउनुभयो । आसिजले ५ दिन भित्र काम हुन्छ अनि फोन गर्छु भनेपछि अर्सद घर फर्किनुभयो । त्यसको केही दिनमै आसिजले फेब्रुअरी १२ तारिकको टिकट पक्का भएको भन्दै ६० हजार रुपैयाँ लिएर बोलाए । अर्सदले अरु पैसा कतारमै दिने सहमति भएको कुरा सुनाउनुभयो तर आसिजले मानेनन् । उनले पैसा नभए टिकट रद्द हुन्छ भने ।

फेब्रुअरी ११ तारिखमा काठमाडौं पुगेर आसिजलाई ६० हजार बुझाएर उहाँ अर्को दिन कतारको एयरपोर्टमा पुग्नु त भयो तर बाहिर निस्किन नपाउँदै प्रहरीले पक्रियो । २४ घन्टा प्रहरीले त्यहीँ राख्यो । सुरुमा उहाँलाई आफु पक्राउ पर्नुको कारण थाहा थिएन । तर प्रहरीले तेरो नाम ब्ल्याक लिस्टमा छ भनेपछि उहाँ झस्किनुभयो । २४ घन्टा राखेपछि उहाँलाई कतारको प्रहरीले नेपाल नै फिर्ता गरायो । नेपालको एरपोर्टमा आएपछि उहाँले आसिजलाई फोन गर्नुभयो । उनले हुन्छ म लिन आउँछु त भने तर लिन आएनन् मोवाइल नै बन्द गरिदिए ।

नेपाल झरिसकेपछि कतारबाट आएको जहाजका कर्मचारीले पासपोर्ट माग्दै ३० हजार दिएर पासपोर्ट लान भन्दै पासपोर्ट राखिदिए । उहाँसँगै ३० हजार त के ३ हजार रुपैयाँ पनि थिएन त्यसैले उहाँ घर पुग्ने बित्तिकै पिपरियामा रहेको ४ मा रहेको आसिजकै घरमा पुग्नुभयो । ‘तर उसले त मलाई उल्टै एयरपोर्टमा किन पैसा नदिई आएको भन्दै गाली गर्‍यो ’ अर्सद भन्नुहुन्छ ‘अब मलाई सिबिआईले मलाई पक्रिन्छ भन्यो तर मैले म सिबिआई म चिन्दिन मलाई मेरो पैसा चाहियो भनें ।’आसिजले ५ दिनपछि पैसा दिने आश्वासन त दिए तर त्यसपछि बेपत्ता भएका छन् । त्यसैले अहिले अर्सद आफ्नो फँसेको पैसा कसरी उठाउने भन्ने तनावमा हुनुहुन्छ ।


from http://daily.gulfact.com/%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0-%E0%A4%8F%E0%A4%AF%E0%A4%B0%E0%A4%AA%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A4%BF%E0%A4%8F%E0%A4%AA%E0%A4%9B/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment