Loading...
हेर्नुहोस भिडियो
आफ्नो व्यापार व्यावसायलाई विस्तार गर्नको लागि पनि तेस्रो मुलुक पुग्ने प्रवृत्तिमा वृद्धि भइरहेको छ। चाहे बाध्यताले निम्ताएको वैदेशिक रोजागारी होस् चाहे अवसरको खोजी होस्, चाहे व्यापार व्यावसायको लागि आफनो देशबाट कतार प्रवेश गरेका आम नेपालीहरुको एउटै पीडा प्रवासको बसाई हो। आफनो घर सम्पत्तिलाई समेत बन्धकी राखेर बाध्यताले वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकहरुका दिनहरु कम्ती पीडादायक छैनन् विदेशमा।
आफ्नो घर परिवार र देशलाई चटक्कै छोडेर आएका ती नेपालीहरुले विदेशी भूमिमा आफ्नो पसिना बगाउँदा बगाउँदै पनि आफूले चाहेको र सोचे अनुरुपको प्रतिफल पाउन सकेका छैन्न्।
कसैको काम फरक पर्नु कसैको कम्पनी फरक पर्नु, कसैको तलब फरक पर्नु, कसैको सडक दुर्घटनामा परेर अंगभंग एवं मृत्यु हुनु, कसैको कार्यस्थल एवं बासस्थानमै अचानक मृत्यु हुनु त कतै कतै कम्पनी मालिक एवं घर मालिकबाट नै यातना दिनु र ४५ डिग्रीको चर्को घाममा कतारका रोडहरुमा रोड निर्माणमा जुटेका कलिला कलकलाउँदा उमेरका नेपाली युवाहरु मासिक न्यून तलबमानमा काम गरिरहेका प्रशस्त पाइन्छन्।
यावत समस्याहरु अंगाल्न नेपालीहरु बाध्य छन्। नेपालीहरुको चाप रहेको कतारमा करिब ५ लाखको हाराहारीमा नेपालीहरु रहेका छन् भने नेपाल लगायत विश्वभरिका मानिसहरुको लागि कतार आर्कषणको केन्द्र बनेको छ। कतार आर्थिक सम्पन्नताको दृष्टिकोणमा उत्कृष्टमा पनि परेको छ।
यहाँ प्रशस्त मात्रामा खनिज प्रज्वलनशील पदार्थको भण्डार रहेको छ र त्यसको अधिकतम उपयोगले गर्दा यसलाई आर्थिक सम्पन्नताको स्थितिमा पुर्याउन सफल भएको छ। आज भन्दा करिब १० वर्ष पहिला कतार प्रवेश गरेका एक नेपालीले आफ्नो अनुभव बताउँदै कतारमा आफू आउँदाको अवस्था र अहिलेको अवस्थामा अतुलनीय परिवर्तन भएको बताउँछन्।
अर्कोतर्फ तीब्र रुपमा भइरहेको नेपालीहरुको अस्वभाविक निधन जसलाई हृदयघातको पनि संज्ञा दिइन्छ यो पनि एक अज्ञात समस्या बनेको छ। सुन्दर सपना बोकेर खाडीको विभिन्न मुलुकमा गएका नेपालीहरु सुतेको अवस्थामा मै मृत्युवरण गरिरहेका घटनाहरु बढ्दो छन्। दैनिकरुपमा काठको बन्द बाकसमा मृत्युभएका नेपालीहरुको शव नेपाल आउने क्रम बृद्धि भएको छ यो विषयमा कतैबाट ठोस अनुसन्धान र रोकथाम एवं चेतनात्मक कार्यक्रम भएको पाइँदैन।
सुन्दर सपनाहरु बोकेर कतार पसेका नेपालीहरुले यहाँको विभिन्न समस्या एवं कठिनाइका बीच पनि केही नेपालीहरुले सफलता प्राप्त गरेका छन्। ती मध्ये कतिपय नेपालीहरुले आफ्नै व्यावसायको रुपमा विभिन्न खालका कम्पनीहरु सञ्चालन गरी सयौं जनालाई रोजगारी पनि दिएका छन्। खास गरी खाडी देशमा मध्ययमस्तरको जनशक्तिमात्र होइन यहाँ उच्च किसिमको नेपाली जनशक्ति पनि पाइन्छ।
इन्जिनियर, चिकित्सक एवं स्थास्थ्यकर्मीहरु, कुशल व्यवस्थापक, एकाउन्टेन्ट, बैकिंग तथा होटल लगायतमा उच्चस्तरका जनशक्तिहरु पनि यहाँ उच्च तलबमानमा कार्यरत छन्। आफ्नै व्यापार व्यावसाय गरिरहेको एउटा जमात, अर्को उच्चस्तरमा कार्यरत जमात छ भने तेस्रो जमात भनेको निम्न तलबमानमा अधिक मेहनत र जोखिमयुक्त कार्य गरिरहेका नेपालीहरुलाई लिन सकिन्छ। यी नेपालीहरुको मेहनतको उद्देश्य भनेको आफ्नो परिवार र सुन्दर भविष्य निमार्णको लागि हो।
यसरी विभिन्न जोखिमपूर्ण र मेहनतपूर्वक गरेको कामबाट प्राप्त भएको तलबबाट पनि उचित बचत गरेर कतिपयले उन्नति गरेका छन् भने अधिकतम निम्नस्तरको कार्य गर्ने नेपालीहरुले क्षणिक आनन्दको लागि मादक पदार्थ प्रयोग गर्ने गरेका छन्।
यो पदार्थ पिउनका लागि नभई घरमा सफाईको लागि प्रयोग गरिने एक प्रकारको रसायनिक मादक पदार्थ हो जसको सेवनपछि नेपालमा स्थानीय भाषामा बोलिने रक्सी वा अन्य मातलाग्ने तत्वले जस्तो नशा दिन्छ त्यो जस्तै नशा यसबाट पनि प्राप्त हुन्छ। फरक यति हो यो मानिसको लागि नभई घरका शौचालयहरु तथा अन्य सफाईको कार्यमा प्रयोग गर्नको लागि बनाइएको रसायनिक तत्व हो। जसको सेवनले मानिसको शरीरलाई अत्यन्तै बेफाइदा गर्छ। यस्ता मादक पदार्थहरुको रुपमा यहाँ लुमा, खजुरबोटे, श्रीलंके आदि आदि नामहरु प्रख्यात छन् जो यहाँका कतिपय मार्केट तथा पसलहरुमा पाइन्छन्।
यहाँका कतिपय नेपालीहरुले यसलाई खाने चिज होइन भन्ने पनि राम्ररी चिन्दछन फेरि पनि उनीहरुले क्षणिक आनन्द र विलासिताका लागि अनि सस्तो पनि भएकाले यस्ता मादक पदार्थहरु प्रयोग गर्दै आएका छन्। लुमा तथा अन्य मादक पदार्थहरुको व्यापार केही नेपालीहरुले पनि लुकिछिपी गर्दै आएका छन्। आफू बस्ने कोठामा लुकाएर राख्ने र महंगो भाउमा बेच्ने पनि गरेको पाइएको छ। जुन यहाँको कानुन विपरितको क्रियाकलाप हो।
एकातिर लुमाको प्रयोग बढ्दो छ भने सूर्तीजन्य पदार्थको व्यापार पनि उत्तिकै रुपमा बढ्दो छ। नेपालमा पाउने पुकार तथा अन्य गुटखाजन्य पदार्थहरु र सूर्तीको रुपमा प्रयोग गर्ने अन्य चिजहरु पनि यहाँ खुलेआम बेचबिखन गरिरहेको पाइन्छ। प्राय शुक्रबारको जमघटमा वेचबिखन गरिने यी विभिन्न भिडियोका सिडी र सुर्तीजन्य पदार्थ, मादक पदार्थ, तथा अन्य जमघटलाई यहाँको प्रशासनले बन्देज गरेको छ र यहाँको स्थानीय पुलिसले शुक्रबारको उक्त जमघटमा यी चिजहरुको साथमा हिरासतमा लिँदा कतिपय नेपालहरुले जेलको हावा समेत खाइरहेका छन्।
शुक्रबारको दिन उक्त पार्कहरुमा नेपाली समुदायका विभिन्न संघसंगठनहरुका भेला तथा बैठकहरु बसेको पनि पाइन्छ कतारमा संघसस्था तथा यूनियनहरु खोल्न प्रतिबन्ध छ फेरि पनि यहाँ सय भन्दा धेरै विभिन्न उद्देश्यले स्थापना गरिएका नेपाली संघसस्थाहरु सक्रिय छन्।
खास गरी कतारमा नेपालमा शनिबार विदा भए जस्तै शुक्रबार विदा हुने गर्दछ तर कतिपय कम्पनीहरुमा बिहीबारबाट नै विदा हुने गर्दछ। बिहीबारको रातलाई यहाँ झुमा अथवा झुमारात भन्ने गरिन्छ भने यो दिन पनि साथीभाइहरु एक अर्काको क्याम्प वा कोठामा गइ बस्ने खाने गर्दछन भने अर्को दिन शुक्रबार खास गरी कतारको राजधानी दोहाका केही पार्कहरु मध्ये तलवारगेट पार्कमा नेपालीहरुको जमघट हुने गर्दछ। राजधानीदेखि टाढा टाढाबाट पनि सवारीसाधनद्वारा नेपालीहरु उक्तपार्कमा जम्मा हुन्छन् उनीहरु त्यहाँ जम्मा हुनुका केही कारणहरु छन्।
भेटघाट मुख्य कारण हो भने थुप्रो मानिसहरुको बीचमा केही नेपालीहरुले आफ्नो आफ्नो धन्दा पनि गरिरहेका देखिन्छन् जुन देख्दा नेपालमा कुनै मेलामा भएको भान हुन्छ। हरियो चउरमा बसेका नेपालीहरु हुन्छन कतै एउटा समूहले सिडी बेचिरहेको हुन्छ भने कतिले चटपटे जस्ता खाद्यवस्तु पनि बेचेको देख्न सकिन्छ। कतै कुनै समूह वा संगठनको बैठक पनि बसेको देख्न सकिन्छ त कतै पानी र जुस हातमा लिएर पसिना पुछदै बेच्न हिँडेका देखिन्छन्।
कतारबाट प्रकाशित हुने कान्तिपुर तथा राजधानी साप्ताहिक पत्रिकाहरु पनि कतिले हातमा लिएर बेच्न हिँडेको देखिन्छ। खासगरि तलवारगेट, बरवा बैंकको पार्क तथा नेशनल क्षेत्र, जैदापार्क, मुन्तजा पार्कमा ज्यादा मात्रामा पाइन्छ भने औद्योगिक क्षेत्र सनैयाका केही पार्कहरुमा पनि यस्ता क्रियाकलाप देख्न सकिन्छ।
कतारलाई राजनैतिक, सामाजिक, जातीय एवं समग्र हिसाबले मूल्यांकन गर्दा करिब ५ लाख नेपालीहरुको जनघनत्व रहेको कतारलाई मिनि नेपाल भनेर अंकित गरिन्छ। यसरी सक्षेपमा भन्ने हो भने कतार अवसरको खानी हो। यहाँ आउने नेपालीहरुको संख्यात्मक हिसाबले बृद्धि भएता पनि गुणात्मक हिसाबले बृद्धि भएको छैन।
जसले गर्दा यहाँ सफल नेपालीहरु भन्दा समस्या र पीडामा परेका नेपालीहरु धेरै छन्। यी सबै समस्याहरु एवं भविष्यमा वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउनका लागि दुतावास एवं संघसस्थाहरु बीचमा समन्वय, जनचेतना, समस्याहरुको अध्ययन गरी समाधानको लागि स्थानीय सरकार एवं नेपाल सरकारसँग पहल गरिनु जरुरी छ।
(प्रथम उपाध्यक्ष, अर्घाखाँची सेवा समाज, कतार)
from http://daily.gulfact.com/%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%97%E0%A4%BF/
Post a Comment